YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 18:28-40

यूहन्नाको सुसमाचार 18:28-40 NERV

त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो। यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?” यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।” पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफैं लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।” यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।” (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।) त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?” पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?” येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।” पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।” पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन। तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?” यहूदीहरूले फेरि चिच्याउँदै भने, “अँहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाँकू थियो।)