YouVersion लोगो
खोज आइकन

उपदेशकको पुस्तक 2:10-22

उपदेशकको पुस्तक 2:10-22 NERV

मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो। मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन। मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ। मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो। यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अँध्यारोमा हिँड्ने मानिस जस्तै हो। तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्। मैले आफ्नो मनमा सोचें, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैंलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।” बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैँ न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ। यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो। मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन। जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्। यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुःख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन। आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?