YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 6:1-12

व्यवस्थाको पुस्तक 6:1-12 NERV

“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर। सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ। हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ। “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं। मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख। “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ। “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।