YouVersion लोगो
खोज आइकन

प्रकाश 16:8-21

प्रकाश 16:8-21 सरल नेपाली

यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो बटुको घाममा खन्‍याए र घामले मानिसलाई पोल्‍ने शक्ति पायो। घामको चर्को रापले मानिसहरूलाई डढाइदियो। यी दु:ख, विपत्तिहरू ल्‍याउन सक्‍नुहुने परमेश्‍वरको नाउँलाई उनीहरूले धिक्‍कारे तर तिनीहरूले आफ्‍ना पापहरूबाट पश्‍चात्ताप गरेनन् र परमेश्‍वरको महान्‌ताको मान-आदर पनि गरेनन्। पाँचौँ स्‍वर्गदूतले आफ्‍नो बटुको जनावरको सिंहासनमा खन्‍याए अनि त्‍यसको राज्‍य अँध्‍यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे। उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्‍वर्गमा राज्य गर्नुहुने परमेश्‍वरलाई धिक्‍कारे तर आफ्‍ना-आफ्‍ना पापहरू छोडेनन्। छैटौँ स्‍वर्गदूतले आफ्‍नो बटुको त्‍यो ठूलो नदी यूफ्रेटिसमा खन्‍याए। पूर्वबाट सवारी हुने राजाहरूको लागि बाटो तयार होस् भनेर त्‍यो ठूलो नदी सुकिहाल्‍यो। तब त्‍यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्‍यागुताजस्‍ता देखिने तीन अशुद्ध आत्‍माहरू निस्‍केका मैले देखें। यी अचम्‍म-अचम्‍मका चिन्‍हहरू गर्ने दुष्‍ट आत्‍माहरू हुन्। सर्वशक्तिमान् परमेश्‍वरको ठूलो दिनमा हुने लडाइँको लागि पृथ्‍वीभरिका राजाहरू जम्‍मा गराउन यी तीन आत्‍माहरू ती राजाहरूकहाँ जान्‍छन्। “सुन, म चोरजस्‍तो गरी आउनेछु। चङ्खो भएर बस्‍ने र आफ्‍ना लुगा जोगाएर राख्‍ने मानिस धन्‍य हो। यसरी त्‍यो मानिस नाङ्गो हिँड्‍नुपर्दैन अनि मान्‍छेहरूका बीच लाजमापर्नेछैन!” अनि हिब्रू भाषामा आर-मागेड्डोन भन्‍ने ठाउँमा ती दुष्‍ट आत्‍माहरूले ती राजाहरूलाई जम्‍मा गराइदिए। सातौँ स्‍वर्गदूतले आफ्‍नो बटुको आकाश-मण्‍डलमा खन्‍याए। तब परमेश्‍वरको मन्‍दिरको सिंहासनबाट एउटा ठूलो सोरले यसो भनेको सुनियो, “अब सिद्धियो।” त्‍यहाँबाट बिजुली चम्‍क्‍यो, गड्याङ-गुडुङको आवाज आयो र भयङ्कर भूइँचालो गयो। यति ठूलो भूइँचालो त मानिसको सृष्‍टि भएको दिनदेखि गएको थिएन। यो सबैभन्दा डरलाग्‍दो भूइँचालो थियो। अनि त्‍यो ठूलो सहर तीन टुक्रा भयो र सबै देशका सहरहरू भत्‍केर नाश भए अनि परमेश्‍वरले त्‍यो ठूलो बेबिलोनलाई याद गर्नुभयो र उहाँको डरलाग्‍दो क्रोध त्‍यस सहरमाथि आइपर्‍यो। सबै टापुहरू बिलाएर गए र पहाड-पर्वतहरू बेपत्ता भए। अनि पचास-पचास किलोसम्‍मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्‌मा परेर परमेश्‍वरलाई धिक्‍कार्न लागे किनभने साँच्‍चै त्‍यो डरलाग्‍दो विपत्ति थियो।

प्रकाश 16 पढ्नुहोस्