YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 97:1-12

भजनसंग्रह 97:1-12 सरल नेपाली

परमप्रभु राजा हुनुहुन्‍छ! हे पृथ्‍वी, आनन्‍द गर! समुद्रका टापुहरू, तिमीहरू रमाओ! बादल र अन्‍धकारले उहाँलाई घेरेका छन्; उहाँले धार्मिकता र न्‍यायसित राज्‍य गर्नुहुन्‍छ। उहाँको अघि आगो जाँदै छ र चारैपट्टिका उहाँका शत्रुहरूलाई भस्‍म पार्दछ। उहाँको बिजुली चम्‍केकोले पृथ्‍वी उज्‍यालो हुँदछ, त्‍यो पृथ्‍वीले देखेर थरथरी हुँदछ। परमप्रभुको अघि, सारा पृथ्‍वीका प्रभुको अघि पहाडहरू मैनजस्‍तै पग्‍लेर जान्‍छन्। आकाशले उहाँको धार्मिकता प्रचार गर्दछ र सबै जातिहरूले उहाँको महिमा देख्‍दछन्। मूर्ति पुज्‍ने हरेक व्‍यक्ति लाजमापर्नेछ, परमप्रभुको अघि सबै देवताहरूले दण्‍डवत् गर्दछन्। हे परमप्रभु, तपाईंको निसाफले गर्दा सियोनका बासिन्‍दाहरू हर्षित छन् र यहूदाका सहरहरूले रमाहट गर्दछन्। हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईं सारा पृथ्‍वीका शासक हुनुहुन्‍छ, तपाईं सबै देवी-देवताहरूभन्दा अति महान् हुनुहुन्‍छ। खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, उहाँले आफ्‍ना प्रजाका जीवनको रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टहरूको शक्तिदेखि बचाउनुहुन्‍छ। धर्मीहरूमाथि ज्‍योति र असल मानिसहरूमाथि आनन्‍द चम्‍कन्‍छन्। परमप्रभुले जे काम गर्नुभएको छ, त्‍यसका कारणले तिमीहरू जो धर्मी छौ, आनन्‍द गर। पवित्र परमेश्‍वरले जे गर्नुभएको छ, याद गर र उहाँलाई धन्‍यवाद चढाओ।

भजनसंग्रह 97 पढ्नुहोस्