हे परमेश्वर, किन तपाईंले हामीलाई यसरी त्याग्नुभयो? के सधैँभरि आफ्नो प्रजासँग तपाईं रिसाउनुहुन्छ? तपाईंले धेरै समयअघि आफ्नै लागि चुन्नुभएको प्रजा, जसलाई तपाईंले दासत्वबाट छुटाएर आफ्नो जाति बनाउनुभयो, तिनीहरूलाई याद गर्नुहोस्, तपाईं एकपल्ट बास गर्नुभएको सियोन पहाडलाई सम्झनुहोस्। हाम्रा शत्रुहरूले मन्दिरमा भएका सबै कुरा नष्ट गरेका छन्, तपाईं यी सबै ध्वंस भएका चीजबीजमाथि हिँड्नुहोस्। शत्रुहरूले तपाईंको मन्दिरमा विजयको स्वर उचालेका छन्; त्यहाँ आफूले गरेको विजय देखाउन तिनीहरूले आफ्ना झन्डा गाडेका छन्। बन्चरोले रूख काट्दै गरेका दाउरेहरूजस्ता तिनीहरू देखा पर्थे, आफ्ना बन्चरो र ठूला घनहरूले काठका सारा बुट्टादार काम तिनीहरूले टुक्रा-टुक्रा पारे। तिनीहरूले तपाईंको मन्दिर भत्काए र आगो लाइदिए, तपाईंको आराधना गरिने ठाउँ तिनीहरूले अपवित्र गरे। देशमा भएका सबै पवित्रस्थानहरू तिनीहरूले डढाएर भस्म पारे, तिनीहरूले हामीलाई पूरै चुर-चुर गर्न चाहे। हाम्रा सबै पवित्र थोकहरू फ्याँकिएका छन्, कुनै अगमवक्ता बाँचेका छैनन्, कहिलेसम्म यो अवस्था रहने हो, कसैले जान्दैनन्। हे परमेश्वर, कहिलेसम्म हाम्रा शत्रुहरू तपाईंमाथि हाँस्नेछन्? के सधैँ तिनीहरूले तपाईंको नामको अपमान गर्ने हुन्? किन हाम्रो सहायता गर्न छोड्नुभयो? किन आफ्ना हात पछिपट्टि बाँधी राख्नुहुन्छ? हे परमेश्वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्दा जन्तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्तु लिव्यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्यसको शरीर तपाईंले मरुभूमिका जन्तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्नुभयो। तपाईंले पृथ्वीका सिमाना बाँध्नुभयो र गर्मी र ठन्डाका ऋतुहरू बनाउनुभयो। तर याद राख्नुहोस्, हे परमेश्वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्छन्, तिनीहरूले परमेश्वर मान्दैनन् र तपाईंलाई घिन गर्छन्। आफ्ना असहाय प्रजालाई तिनीहरूका निष्ठुरी बैरीका हातमा नछोड्नुहोस्, सतावटमा परेका आफ्ना प्रजालाई नभुल्नुहोस्। तपाईंले हामीसँग बाँध्नुभएको करार सम्झनुहोस्। देशका हरेक अँध्यारो कुनामा हिँसा छ। सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्, ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्। हे परमेश्वर उठ्नुहोस् र आफ्नो कामको रक्षा गर्नुहोस्, याद राख्नुहोस् कि ईश्वर नमान्नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्छन्। आफ्ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्ला नभुल्नुहोस्।
भजनसंग्रह 74 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 74:1-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू