YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 71:1-24

भजनसंग्रह 71:1-24 सरल नेपाली

हे परमप्रभु! रक्षाको निम्‍ति म तपाईंको शरण परेको छु, मेरो हार कहिल्‍यै हुन नदिनुहोस्! तपाईं धर्मी हुनुहुन्‍छ, यसकारण मेरो सहायता र रक्षा गर्नुहोस्, मेरो बिन्‍ती सुन्‍नुहोस् र मलाई बचाउनुहोस्! मेरो रक्षाको लागि बलियो गढी र दरिलो आश्रय बन्‍नुहोस्, तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ। मेरा परमेश्‍वर! दुष्‍ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्, निष्‍ठुरी र दुष्‍टको शक्तिबाट मलाई रक्षा गर्नुहोस्। सार्वभौम परमप्रभु! म तपाईंमा आशा राख्‍दछु, मैले युवा अवस्थामै तपाईंमा भरोसा राखेको छु। म जीवनभरि तपाईंमा भर परेको छु, म जन्‍मेको दिनदेखि तपाईंले मेरो रक्षा गर्नुभएको छ, म सधैँ तपाईंको प्रशंसा गर्नेछु। मेरो जीवन धेरै जनाको निम्‍ति नमुना बनेको छ किनभने तपाईं मेरो प्रतापी रक्षक हुनुभएको छ। दिनभरि म तपाईंको प्रशंसा गर्दछु र तपाईंको महिमाबारे उच्‍च सोरले भन्‍छु। अब बुढेस-कालमा मलाई इन्‍कार नगर्नुहोस्, म कमजोर भएको छु, मलाई नत्‍याग्‍नुहोस्। मेरा शत्रुहरूले मलाई मार्न खोज्‍छन्, तिनीहरूले मेरो विरुद्धमा कुरा गर्छन् र जाल रच्‍छन्। तिनीहरू भन्‍छन्, “परमेश्‍वरले त्‍यसलाई त्‍याग्‍नुभएको छ, हामी त्‍यसलाई खेदेर पक्रौं, त्‍यसलाई बचाउने कोही छैन।” हे परमेश्‍वर! यति टाढा नहुनुहोस्! हे मेरा परमेश्‍वर! मलाई मद्दत गर्न चाँडै आउनुहोस्। ममाथि आक्रमण गर्नेहरूको हार होस् र तिनीहरू मारिऊन्। मलाई चोट लाउन खोज्‍नेहरू लाज र बदनाममा परून्। म सधैँ तपाईंमा आशा राख्‍नेछु, म तपाईंको झन् धेरै प्रशंसा गर्नेछु। म तपाईंको भलाइबारे भन्‍नेछु, दिनभरि म तपाईंको मुक्तिको विषयमा कुरा गर्नेछु, जुन मुक्तिबारे मैले पूरा बुझ्‍न पनि सकेको छैनँ। हे सार्वभौम परमप्रभु, म तपाईंको सामर्थ्‍यको प्रशंसा गर्नेछु, तपाईंको भलाइबारे मात्र अरूलाई उच्‍च स्‍वरले भन्‍नेछु। म युवा हुँदादेखि नै तपाईंले मलाई सिकाउनुभएको छ, तपाईंका उदेकका कामबारे म अझै बयान गर्दछु। म अब बुढो भएको छु र मेरो केश फुलिसकेको छ, मलाई नत्‍याग्‍नुहोस्, हे परमेश्‍वर! पुस्‍ता-पुस्‍तालाई तपाईंको शक्ति र सामर्थ्‍यबारे उच्‍च स्‍वरले बताउँदा तपाईं मेरो साथ हुनुहोस्। हे परमेश्‍वर, तपाईंको धार्मिकता आकाशसम्‍म पुग्‍दछ, तपाईंले महान् कार्यहरू गर्नुभएको छ। तपाईंजस्‍तो अरू कुनै छैन। तपाईंले मकहाँ दु:ख-कष्‍ट पठाउनुभयो, तर मेरो बल फेरि नयाँ गरी फर्काइदिनुहुनेछ, मलाई मृत्‍युदेखि जोगाइराख्‍नुहुनेछ। तपाईंले मलाई अझ महान् बनाउनुहुनेछ र सान्‍त्‍वना फेरि दिनुहुनेछ। हे मेरा परमेश्‍वर, तपाईंको विश्‍वासनीयताको निम्‍ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु। हे इस्राएलका परमपवित्र, सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु। तपाईंलाई प्रशंसा गर्दा म आनन्‍दले स्‍वर उचाल्‍नेछु, मेरो सारा प्राणले म गाउनेछु किनभने तपाईंले मलाई बचाउनुभएको छ। म दिनभरि तपाईंको धार्मिकताको बारेमा भन्‍नेछु किनभने मलाई हानि गर्न खोज्‍नेहरू हारेका छन् र बदनाम भएका छन्।

भजनसंग्रह 71 पढ्नुहोस्