YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:1-35

भजनसंग्रह 68:1-35 सरल नेपाली

परमेश्‍वरले उठ्‍नुभएर आफ्‍ना शत्रुहरूलाई छरपष्‍ट पार्नुहुन्‍छ, उहाँलाई घृणा गर्नेहरू हारेर भाग्‍छन्। उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्‍छ, आगोको अघि मैन बिलाएझैँ दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट हुन्‍छन्। तर धर्मीहरू उहाँको अघि आनन्‍द गरेर रमाउनेछन्, तिनीहरू प्रसन्‍न हुन्‍छन् र आनन्‍दले स्‍वर उचाल्‍छन्। परमेश्‍वरको स्‍तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्‍ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्‍थितिमा आनन्‍दित होओ। परमेश्‍वरले आफ्‍नो पवित्र मन्‍दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्‍ता गर्नुहुन्‍छ र विधवाहरूको रक्षा गर्नुहुन्‍छ। उहाँले एक्‍लो मानिसलाई बस्‍ने घर दिनुहुन्‍छ र कैदीहरूलाई छुटकारा दिएर आनन्‍द दिनुहुन्‍छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ। हे परमेश्‍वर! जब तपाईंले आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्‍वीमा भूइँचालो गयो र आकाशबाट बृष्‍टि भयो किनभने सीनैका परमेश्‍वर, इस्राएलका परमेश्‍वर आउनुभएको थियो। तपाईंले प्रशस्‍त बृष्‍टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्‍यहाँ आफ्‍ना घर बनाए र आफ्‍नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो। प्रभुले आज्ञा दिनुभयो र धेरै स्‍त्रीहरूले यस्‍तो खबर सुनाए: “राजाहरू आफ्‍ना सेनासहित भागिरहेका छन्!” घरका स्‍त्रीहरूले लुटी ल्‍याएका चीजबीजहरू बाँड-चुँड गरे: चाँदीले मोहोडेका परेवाका मूर्तिहरू, जसका पखेटामा निखुर सुन जडेका थिए, त्‍यस्‍ता वस्‍तुहरू बाँड-चुँड गरे। (किन लडाइँका दिनमा तिमीहरूमध्‍ये कति जना भेडाका गोठमा बसिरह्यौ?) सर्वशक्तिमान्‌ परमेश्‍वरले राजालाई सल्‍मोन पहाडमा छरपष्‍ट पार्नुहुँदा त्‍यहाँ हिउँ बर्साउनुभयो। बाशान कति महान् पर्वत छ! त्‍यस पर्वतमा धेरै चुचुराहरू छन्! तिमी बसेको अग्‍लो चुचुरादेखि परमेश्‍वरले आफू बस्‍न रोज्‍नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ? परमप्रभु त्‍यहाँ सदासर्वदा बास गर्नुहुनेछ। आफ्‍ना हजारौं बलिया रथका साथ प्रभु सीनैदेखि आफ्‍नो पवित्र बासस्‍थानमा आउनुहुन्‍छ। धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्‍ला पर्वतमा जानुहुन्‍छ, विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्। परमप्रभु परमेश्‍वर त्‍यहाँ बास गर्नुहुनेछ। दिन दिनै हाम्रा बोझ बोकिदिनुहुने प्रभुको प्रशंसा गर। उहाँ हामीलाई बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। हाम्रा परमेश्‍वर हामीलाई बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, उहाँ हामीलाई मृत्‍युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्‍छ। आफ्‍नै पापी चालमा चलिरहने शत्रुहरूका टाउकाहरू परमेश्‍वरले साँच्‍चै फुटाउनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ, “म तिम्रा शत्रुहरूलाई बाशानदेखि र समुद्र तलदेखि फर्काई ल्‍याउनेछु र तिनीहरूका रगतमा तिमीहरू पाइला चालेर हिँड्‍नेछौ र तिम्रा कुकुरहरूले चाहेजति रगत चाट्‍नेछन्।” हे परमेश्‍वर! तपाईंको विजय यात्रा, परमेश्‍वर मेरा राजाको आफ्‍नो पवित्रस्‍थानमा विजय सवारी सबैले देखेका छन्। अघि-अघि गवैयाहरू, पछि-पछि बाजा बजाउनेहरू छन् र बीचमा खैँजडी बजाउने ठिटीहरू छन्। “हे याकूबका सन्‍तान हो! परमप्रभुको प्रशंसा गर! उहाँका आफ्‍ना प्रजा भेला भएका सभामा परमेश्‍वरको प्रशंसा गर!” पहिले सबैभन्दा सानो बेन्‍यामीन कुल आउँछ, त्‍यसपछि यहूदा कुलका अगुवाहरू आफ्‍ना झुण्‍डसहित आउँछन्, तिनका पछि-पछि जबूलून र नप्‍ताली कुलका अगुवाहरू आउँछन्। हे परमेश्‍वर! आफ्‍नो शक्ति देखाउनुहोस्। यरूशलेमको मन्‍दिर, जहाँ राजाहरूले तपाईंलाई भेटी चढाउँछन्, त्‍यहाँदेखि तपाईंले हाम्रो पक्षमा चलाउनुभएको शक्ति देखाउनुहोस्। त्यो निगालोका बीचमा भएको जङ्गली जनावरजस्‍तो मिश्रदेशलाई, साँढे र तिनका बाछाहरूका बथानजस्‍ता जाति-जातिलाई हकार्नुहोस्, दण्‍डवत् गरेर आफ्‍ना चाँदीहरू तपाईंलाई नचढाउञ्‍जेलसम्‍म तिनीहरूलाई हकार्नुहोस्। लडाइँ गर्न रुचाउनेहरूलाई छरपष्‍ट पार्नुहोस्! राजदूतहरू मिश्रदेखि आउनेछन्, कूशले परमेश्‍वरलाई हात उचालेर प्रार्थना गर्नेछन्। हे संसारका राज्‍यहरू हो! परमेश्‍वरको स्‍तुति गाओ, प्राचीनकालदेखिका आकाशमा सवार हुनुहुने परमप्रभुको प्रशंसा गाओ। उहाँ उच्‍च स्‍वरले कराउनुभएको सुन। परमेश्‍वरको सामर्थ्‍यबारे स्‍वर उचालेर भन, उहाँको गौरव इस्राएलमाथि छाएको छ, उहाँको सामर्थ्‍य आकाशमा फैलिएको छ। इस्राएलका परमेश्‍वर आफ्‍ना मन्‍दिरदेखि आउनुहुँदा कति डरलाग्‍दो देखिनुहुन्‍छ! उहाँले आफ्‍ना प्रजालाई शक्ति र बल दिनुहुन्‍छ।

भजनसंग्रह 68 पढ्नुहोस्