YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34

34
परमेश्‍वरको भलाइको प्रशंसा
1म सधैँ परमप्रभुलाई धन्‍यवाद दिनेछु,
उहाँको प्रशंसा गर्न म कहिल्‍यै रोक्‍नेछैनँ।
2उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु;
सताइएकाहरू सबै त्‍यो सुनेर हर्षित होऊन्।
3मसँग परमप्रभुको महान्‌ताबारे स्‍वर उचाल,
हामी मिलेर उहाँको नामको प्रशंसा गरौं!
4मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो,
उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो।
5सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्‍छन्,
तिनीहरू कहिल्‍यै निराश हुनेछैनन्।
6असहायहरूले उहाँलाई पुकार्छन् र उहाँले उत्तर दिनुहुन्‍छ,
उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ।
7उहाँका आज्ञा मान्‍नेहरूलाई उहाँका दूतले रक्षा गर्छन्
र सारा खतरादेखि तिनीहरूको बचाउ गर्छन्।
8 # १ पत्रुस 2:3 परमप्रभु कति असल हुनुहुन्‍छ आफैं खोजेर बुझ,
उहाँमा रक्षा पाउनेहरू खुसी रहन्‍छन्।
9उहाँका सबै मानिसहरू हो। परमप्रभुको आज्ञापालन गर!
उहाँका आज्ञा मान्‍नेहरूले चाहिने कुराहरू सबै पाउँछन्।
10आहार नपाएर सिंहहरू पनि भोकै बस्‍छन्,
तर परमप्रभुका आज्ञा मान्‍नेहरूलाई कुनै असल कुराको खाँचो पर्दैन।
11मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन,
म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु।
12 # १ पत्रुस 3:10-12 के तिमी जीवनमा आनन्‍द गर्न चाहन्‍छौ?
के तिमीले लामो आयु र आनन्‍द चाहन्‍छौ?
13त्‍यसो हो भने खराब कुरा
र झूटो बोल्‍नदेखि टाढा बस,
14खराबीदेखि फर्क र भलाइ गर
र सारा हृदयले शान्‍तिको खोजी गर।
15परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्‍छ
र तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ।
16तर उहाँले दुष्‍ट काम गर्नेहरूको विरोध गर्नुहुन्‍छ
र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्‍छन्।
17धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्‍नुहुन्‍छ,
उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ।
18परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्‍छ,
उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्‍छ।
19भलो मानिसहरूले धेरै कष्‍ट पाउँछन्,
तर परमप्रभुले उनीहरूलाई ती सबै कष्‍टहरूदेखि उद्धार गर्नुहुन्‍छ।
20 # यूहन्‍ना 19:36 परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्‍छ,
तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन।
21दुष्‍टलाई खराबीले मार्दछ,
धर्मीलाई घृणा गर्नेहरूले दण्‍ड पाउनेछन्।
22परमप्रभुले आफ्‍ना जनहरूलाई बचाउनुहुनेछ,
सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्‍नेछन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 34: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्