भजनसंग्रह 30
30
धन्यवादको प्रार्थना
1हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु
किनभने तपाईंले मलाई बचाउनुभयो
र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन।
2हे परमप्रभु! मेरा परमेश्वर!
मैले तपाईंलाई सहायताको निम्ति पुकारें
र तपाईंले मलाई निको पार्नुभयो।
3तपाईंले मलाई मृत्युदेखि बचाउनुभयो
मैले मृत्यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ,
तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्याउनुभयो।
4हे उहाँका सबै विश्वासी प्रजा हो!
परमप्रभुको प्रशंसा गर,
परमपवित्रको कामको सम्झना गर
र उहाँलाई धन्यवाद चढाओ!
5उहाँको रिस थोरै समयको लागि
र उहाँको भलाइ जीवनभरिको लागि रहन्छन्।
राती आँसु झर्ला
तर बिहान आनन्द आउँछ।
6मैले आफैंलाई सुरक्षित पाएर भनें,
“म कहिल्यै हार्नेछैनँ।”
7परमप्रभु! तपाईं मेरो निम्ति भलो हुनुहुन्थ्यो,
पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो।
तर जब तपाईं मदेखि लुक्नुभयो,
म डराएँ।
8परमप्रभु! मैले तपाईंलाई पुकारें,
मैले तपाईंसित मद्दतको लागि बिन्ती गरें–
9“मेरो मृत्युले तपाईंलाई के नाफा हुन्छ?
म चिहानमा जाँदा तपाईंलाई के लाभ हुन्छ?
के मरेका मानिसहरूले तपाईंलाई प्रशंसा गर्न सक्छन्?
के तिनीहरूले तपाईंको अटुट भलाइको बारेमा भन्न सक्छन्?
10परमप्रभु! मेरो बिन्ती सुन्नुहोस् र मलाई दया गर्नुहोस्,
मेरो सहायता गर्नुहोस्! हे परमप्रभु!”
11मेरो अफसोसलाई एउटा आनन्दको नाचमा साटिदिनुभयो,
मेरो अफसोस तपाईंले हटाउनुभयो
र आनन्दले मलाई ढाक्नुभयो।
12यसकारण म चुप बस्नेछैनँ,
म तपाईंको प्रशंसाको गीत गाउनेछु,
हे परमप्रभु! तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
म सदाकालको लागि तपाईंलाई धन्यवाद चढाउनेछु।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 30: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.