परमप्रभुलाई धन्यवाद चढाओ
किनभने उहाँ असल हुनुहुन्छ
र उहाँको प्रेम अमर छ।
इस्राएलका प्रजाले भनून्,
“उहाँको प्रेम अमर छ।”
परमेश्वरका पूजाहारीहरूले भनून्,
“उहाँको प्रेम अमर छ।”
उहाँलाई पुज्नेहरू सबैले भनून्,
“उहाँको प्रेम अमर छ।”
मेरा कष्टमा मैले परमप्रभुलाई पुकारें,
उहाँले मलाई जवाफ दिनुभयो र छुटकारा दिनुभयो।
परमप्रभु मसँग हुनुहुन्छ, म डर मान्दिनँ,
कसले मलाई के गर्न सक्छ र?
परमप्रभुले मलाई सहायता दिनुहुन्छ।
मैले आफ्ना शत्रुहरू हारेको देख्नेछु।
मानिसमा भर पर्नुभन्दा परमप्रभुमा
भरोसा गर्नु अझै असल हो।
मानिसका अगुवाहरूमा भर पर्नुभन्दा
परमप्रभुमा भरोसा गर्नु अझै असल हो।
धेरै शत्रुहरू मेरा चारैपट्टि थिए,
तर परमप्रभुको शक्तिले मैले तिनीहरूलाई नाश गरें।
हरेक दिशाबाट तिनीहरूले मलाई घेरेका थिए,
तर मैले तिनीहरूलाई परमप्रभुको शक्तिद्वारा नाश गरें।
मौरीझैँ तिनीहरू मेरा चारैपट्टि भुनभुन गरी उड्दथे,
तर काँडाका बोटमा लागेको आगोजस्तै ती डढिगए,
मैले परमप्रभुको शक्तिद्वारा तिनीहरूलाई नाश पारें।
डरलाग्दो प्रकारले ममाथि हमला भयो र मैले हार्न लागेको थिएँ,
तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
परमप्रभुले मलाई बलियो र शक्तिमान् बनाउनुहुन्छ,
उहाँले मलाई बचाउनुभएको छ।
परमेश्वरका प्रजाका पालहरूमा भएको विजयको आनन्दको स्वर सुन:
“परमप्रभुको परमशक्तिले यो भएको हो।
उहाँको शक्तिले, युद्ध गर्ने उहाँको परमशक्तिले
हामीलाई विजय दिएको हो।”
म मर्नेछैनँ, त्यसको सट्टामा म बाँचिरहनेछु
र परमप्रभुले जे गर्नुभएको छ, त्यो जोडले भन्नेछु।
उहाँले मलाई कठोर दण्ड त दिनुभयो,
तर मेरो मृत्यु भने हुन दिनुभएन।
मन्दिरका ढोकाहरू मलाई खोलिदेऊ,
म भित्र पसेर परमप्रभुलाई धन्यवाद चढाउनेछु।
यो परमप्रभुको ढोका हो,
धर्मीहरूले मात्र यसभित्र पस्न पाउँछन्।
परमप्रभु, म तपाईंको प्रशंसा गर्छु
किनभने तपाईंले मेरो बिन्ती सुन्नुभएको छ
र मलाई विजय दिनुभएको छ।
घर बनाउनेहरूले बेकामको भनेर फ्याँकेको ढुङ्गाचाहिँ
शिर-ढुङ्गा भएको छ।
यो परमप्रभुले गर्नुभएको हो;
यो कति उदेकको कुरा छ!
आज परमप्रभुको विजयको दिन हो,
हामी आनन्द गरौं र उत्सव मनाऔं।
हामीलाई बचाउनुहोस्, परमप्रभु, हामीलाई बचाउनुहोस्!
हामीलाई सफल गराउनुहोस्, हे परमप्रभु!
परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्वरले आशिष् देऊन्,
परमप्रभुको मन्दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्छौं।
परमप्रभु परमेश्वर हुनुहुन्छ,
उहाँले हामीमाथि भलाइ गर्नुभएको छ।
हातमा हाँगाबिंगा लिएर चाड मनाउन सुरु गर
र वेदीको चारैतिर फेरो लाओ।
तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
म तपाईंलाई धन्यवाद चढाउँदछु,
म तपाईंको महान्ताबारे ठूलो स्वरले भन्नेछु।
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ
र उहाँको प्रेम अमर छ।