YouVersion लोगो
खोज आइकन

हितोपदेश 25

25
सोलोमनका अरू उखानहरू
1सोलोमनका अरू उखानहरू यी नै हुन्। हिजकिया यहूदाको राजाका दरबारियाहरूले ती सारिराखेका थिए।
2परमेश्‍वरको सम्‍मान् उहाँले गुप्‍तमा राख्‍नुभएको रहस्‍यमा छ तर राजाको सम्‍मान् ती निकाली तिनको अर्थ खोल्‍नुमा छ।
3आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्‍तै राजाका सोचाइ कसैले जान्‍दैन।
4चाँदीबाट खार निकाल र शिल्‍पकारले त्‍यसबाट सुन्‍दर चीज बनाउन सक्‍छ। 5दुष्‍ट सल्‍लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्‍य न्‍यायको कारण कायम हुनेछ।
6 # लूका 14:8-10 राजाको सामुन्‍ने खडा हुँदा म ठूलो मानिस हुँ भन्‍ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्‍टा नगर। 7कुनै ठूला मानिसको सामु आफू बसेको ठाउँबाट तल झारिनुभन्दा बरु यता आएर बस भनी माथि आसनमा निम्‍त्‍याइनु असल हो।
8आफूले देखेको कुरो बताउन अदालततिर चाँडो-चाँडो नदगुर। अर्को गवाहीले झूटो हो भनी प्रमाण दियो भने कसो गर्ने?
9छिमेकीसित झगडा भयो भने आफ्‍नै बीचमा छलफल गर र गुप्‍त कुरा प्रकट नगर। 10नत्रता तिमीले गुप्‍त कुरा प्रकट गर्छ भनी सबैले जान्‍नेछन् र त्‍यो बदनाम कसै गरी मेटिनेछैन।
11ठीकसँग बोलिएको वचन चाँदीको पाताका बीचमा सुनका स्‍याउहरू जडेको जस्‍तै हो।
12अनुभवी मानिसले ध्‍यानसित सुन्‍ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो।
13बाली काटेको समय गर्मीमा चिसो पानी पाएजस्‍तै विश्‍वासयोग्‍य दूतले त्‍यसलाई पठाउने मालिकको आत्‍मालाई ताजा गराउँछ।
14प्रतिज्ञा गरेर उपहार नदिने मानिस झरी नल्‍याउने बादल र हावाजस्‍तै हो।
15धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्‍त पार्न सक्‍छ र शासकलाई पनि मनाउन सकिन्‍छ।
16चाहिएभन्दा ज्‍यादा मह कहिल्‍यै नखानू, मह धेरै खानाले बान्‍ता गराउँछ। 17छिमेकीकहाँ घरीघरी नजाऊ, नत्र त्‍यसले दिक्‍क मानेर तिमीलाई घृणा गर्नेछ।
18झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो।
19सङ्कष्‍टको समयमा विश्‍वास गर्न नसकिने मानिसमाथि भर पर्नु दु:खेको दाँतले चपाउनु वा लङ्गडो खुट्टाले हिँड्‍नुजस्‍तै हो।
20उदास भएको मानिसको सामुन्‍ने गीत गाउनु जाडोको दिनमा उसको वस्‍त्र फुकालिदिनु अथवा घाउमा नुन छर्किदिनुजस्‍तै हो।
21 # रोमी 12:20 तिम्रो शत्रु भोको छ भने त्‍यसलाई खुवाऊ, तिर्खाएको छ भने पिउन पानी देऊ। 22त्‍यसो गर्नाले त्‍यो लाजले भुतुक्‍क हुनेछ र परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ।
23उत्तरको बतासले झरी ल्‍याएझैँ बेकम्‍मा कुराले रिस जगाउँछ।
24कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त कौसीमा एक्‍लै बस्‍नु असल हो।
25टाढाबाट आएको शुभ समाचार तिर्खाएर घाँटी सुकेको बेला चिसो पानी पिएको जस्‍तै हो।
26दुष्‍टलाई मनमानी गर्न छोडिदिने धर्मी मानिस फोहोर परेको पानी वा विषालु कुवाजस्‍तै हो।
27धेरै मह खानु ठीक होइन, आफ्‍नो प्रशंसा धेरै खोज्‍नु पनि त्‍यस्‍तै हो।
28आफ्‍नो रिस थाम्‍न नसक्‍ने मानिस पर्खालबिनाको सहरजस्‍तै असहाय हुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 25: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्