YouVersion लोगो
खोज आइकन

हितोपदेश 17

17
1झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्‍तिसित सुख्‍खा रोटी खानु उत्तम हो।
2मालिकको बेकामे छोरामाथि चतुर चाकरले आफ्‍नो हक जमाउन सक्‍छ र त्‍यसका पैतृक-सम्‍पत्तिबाट केही हिस्‍सा पाउन सक्‍छ।
3सुन र चाँदीको जाँच आगोद्वारा गरिन्‍छ र मानिसको मन परमप्रभुले जाँच्‍नुहुन्‍छ।
4दुष्‍ट मानिसहरूले दुष्‍ट कुराहरू सुन्‍छन् र झूटो बोल्‍नेहरूले झूटो कुरा सुन्‍न कान ठाडो गर्छन्।
5गरीबमाथि हाँस्‍नेले तिनीहरूको सृष्‍टिकर्ता परमेश्‍वरको अपमान गर्छ। अरूको दुर्भाग्‍यमा रमाहट गर्नेले सजायँ पाउँछ।
6बुढापाकाहरूले आफ्‍ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्‍ना बुबा-आमाको गर्व गर्छन्।
7आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन।
8घुसले जादूझैँ काम गर्दछ र त्‍यसबाट सबै काम सफल हुन्‍छ भनी कति मानिसहरूले सोच्‍छन्।
9मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्‍छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्‍नाले मित्रता तोडिंदछ।
10मूर्खबाट सय चोटी चुटाइ खाएर पाएको ज्ञानभन्दा समझदारबाट एकै हप्‍काइमा लिएको ज्ञान बढी हुन्‍छ।
11सधैँ विद्रोह गरिरहने दुष्‍टहरूको विरुद्ध निर्दयी हाकिम खटाइन्‍छ।
12मूर्ख काम गर्न लागेको मूर्खलाई भेट्‍नुभन्दा त बच्‍चा खोसिएकी माऊ भालुलाई भेट्‍नु असल हो।
13भलाइको सट्टामा खराब गर्ने मानिसको घरबाट खराबीले कहिल्‍यै ठाउँ छोड्दैन।
14झगडाको सुरु पानीको बाँध फुटेको जस्‍तै हो, त्‍यसलाई बढ्‍न नदिई बन्‍द गरिहाल।
15निर्दोषलाई दण्‍ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ।
16मूर्खले विद्यामा धन खर्च गर्नु व्‍यर्थ छ किनभने त्‍योसित सामान्‍य बुद्धि नै हुँदैन।
17मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्‍छन्।
18बेहोशी मानिस मात्र अर्काको ऋणको जमानी बस्‍दछ।
19झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्‍नै खति गर्छ।
20दुष्‍ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्‍छ, त्‍यसलाई विनाश मात्र छ।
21मूर्ख छोरोको कामबाट बुबालाई शोक र सन्‍ताप मात्र हुँदछ।
22प्रसन्‍न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्‍तारै मृत्‍यु ल्‍याउँदछ।
23भ्रष्‍ट न्‍यायाधीशले गुप्‍तमा घुस लिन्‍छ र न्‍याय बिगार्दछ।
24समझदार व्‍यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्‍य राख्‍दछ तर मूर्खले यताउता मन डुलाउँदछ।
25मूर्ख छोरोले बुबालाई शोक र आमालाई साह्रै पीरमा पार्दछ।
26निर्दोष मानिसलाई दण्‍ड दिनु उचित होइन, असल मानिसहरूलाई दण्‍ड दिनाले न्‍याय बिग्रँदछ।
27ज्ञानी मानिस धेरै बोल्‍दैन, अन्‍तर्दृष्‍टि भएको मानिस शान्‍त भएर बस्‍छ। 28आखिरी, मूर्खले पनि शान्‍त भएर मुख बन्‍द राखे, त्‍यो समझदार देखिन्‍छ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्