गन्ती 4
4
लेवी कुलको कहात गोत्रका कामहरू
1परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2“तिमीहरूले कहात गोत्रका लेवीका जनसङ्ख्या थर र परिवार-परिवार गरी लिनू 3र तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसका नाम लेख्नू। 4तिनीहरूले अति पवित्र कुराहरूको सेवाकार्य गर्नुपर्छ।”
5परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्दुकको सामुन्ने लाएको पर्दा हटाएर त्यसले सन्दुकलाई ढाक्नेछन्। 6त्यसमाथि तिनीहरूले सिलको छालाको छोप्ने तन्ना राखेर नीलो कपडाले माथिबाट ढाक्नेछन् अनि बोक्ने डन्डाहरू कुण्डलभित्र हाल्नेछन्। 7तिनीहरूले परमप्रभुलाई चढाएका रोटीहरू राख्ने टेबिलमाथि एउटा नीलो तन्ना ओछ्याएर त्यसमा थाल, कचौरा, धुपौरा, भेटी चढाउने पात्र र मद्यबलिका कलशहरू राख्नेछन्। टेबिलमा सधैँ रोटी रहनेछ। 8यी सबैमाथि तिनीहरूले रातो तन्ना फिँजाउनेछन् र तिनलाई एउटा असल छालाको तन्नाले ढाकेर बोक्ने डन्डाहरू कुण्डलभित्र हाल्नेछन्।
9तिनीहरूले एउटा नीलो कपडा लिएर त्यसले सामदान, पानस, चिम्टाहरू, मोसोदानी र जैतुन तेलका पात्रहरू छोप्नेछन्। 10सर-सामानसहित त्यो तिनीहरूले असल छालाले ढाकी बेर्नेछन् र ती बोक्ने चौकोसमाथि राख्नेछन्।
11त्यसपछि तिनीहरूले सुनको वेदीमाथि एउटा नीलो कपडा ओछ्याउनेछन्, त्यसलाई सिलको छालाले ढाक्नेछन् र बोक्ने डन्डीहरू कुण्डलमा हाल्नेछन्। 12तिनीहरूले पवित्रस्थानमा चलाइने सारा भाँडा-कुँडा नीलो कपडामा लपेटेर बोक्ने चौकोसमाथि राख्नेछन्। 13वेदीबाट बोसो मिसिएको खरानी हटाएर त्यसमाथि बैजनी कपडा फिँजाउनेछन्। 14त्यसमाथि वेदीमा काम लाग्ने सर-सामान आगोको पात्र, अङ्कुसे परेका काँटाहरू, बेल्चाहरू र पानी हाल्ने भाँडाहरू राख्नेछन्। तब तिनलाई असल छालाको तन्नाले ढाकेर बोक्ने डन्डीहरू कुण्डलमा लाउनेछन्। 15छाउनी उठाउने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै सर-सामानहरू र तिनका साजसज्जाका सामानसहित ढाकछोप गरिसकेपछि मात्र कहात गोत्रका मानिसहरू ती बोक्नलाई आउनेछन्। कहात गोत्रका मानिसहरूले ती पवित्र सामान छुनुहुँदैन, नत्र तिनीहरू मर्नेछन्। जब पवित्र पाल उठाइन्छ, तब कहात गोत्रले पवित्रस्थानका सर-सामान बोक्ने कामको जिम्मा लिनेछ।
16पूजाहारी हारूनका छोरा एलाजार सम्पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्ति जिम्मेवार रहनेछन्।
17परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 18-19“यी अति पवित्र वस्तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्यसको लागि हारून र त्यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्यसको काम खटाइदिनेछ र त्यसले कुन कुरो बोक्नुपर्छ, सो भनिदिनेछ। 20तर कहातीहरूले पवित्र पालमा पसेर पूजाहारीहरूले ती पवित्र वस्तुहरू सार्नलाई तयार गर्न लागेका देखे भने तिनीहरू मर्नेछन्।”
लेवी कुलको गेर्शोन गोत्रका कामहरू
21परमप्रभुले मोशालाई भन्नुभयो, 22“लेवी कुलका गेर्शोन गोत्रका थर-थर र परिवार-परिवार गरी जनसङ्ख्या लिनू 23अनि तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम लेख्नू।” 24यी तल लेखिएका सामान बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्: 25पवित्र पाल, त्यसका भित्री र बाहिरी पर्दाहरू, त्यस माथिको ढाक्ने असल छालाको तन्ना, ढोकाको पर्दा, 26पवित्र पालका चारैपट्टिको चोक र वेदीका डोरी र पर्दाहरू, चोकका ढोकाको पर्दा र ती उभ्याउनलाई चाहिने सबै कुराहरू। यी कुराहरूका लागि आवश्यक पर्ने सबै काम तिनीहरूले गर्नेछन्। 27ती गेर्शोनीहरूले यी सबै काम गरेका, हारून र तिनका छोराहरूले खटाएका सबै कुराहरू बोकेका, ठीकसँग भए वा भएनन् मोशा र हारूनले हेर्नुपर्नेछ। 28पवित्र पालका यी कामहरू गेर्शोन वंशका जिम्मामा रहनेछन्। पूजाहारी हारूनको छोरो ईतामारको आदेशमा तिनीहरूले यी कामहरू गर्नेछन्।
मरारी गोत्रका लेवीका कामहरू
29परमप्रभुले मोशालाई भन्नुभयो, “मरारी गोत्रका लेवीका जनसङ्ख्या, तिनका थर र परिवार-परिवार गरी लिनू। 30अनि तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुले बास गर्ने पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम लेख्नू।” 31-32पवित्र पालका फल्याक, डन्डी, खम्बा र आधारहरू अनि पवित्र पालका चारैतिरका चोकका खम्बा र आधारहरू, किलाहरू र डोरीहरू साथै तिनलाई खडा गर्नमा लगाइने सबै कुराहरू बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्। 33पवित्र पालको सेवाकार्यका यी कामहरूका निम्ति मरारी वंश जिम्मेवार रहनेछ। तिनीहरूले पूजाहारी हारूनका छोरा ईतामारको आदेशमा ती कामहरू गर्नेछन्।
लेवीहरूको गन्ती
34-48परमप्रभुले दिनुभएको आज्ञाअनुसार मोशा, हारून र इस्राएली समाजका मुखियाहरूले कहात, गेर्शोन र मरारी गोत्रका लेवीहरूका जनगणना लिए। त्यो जनगणना तिनीहरूले थर र परिवार-परिवारअनुसार गरे र तीसदेखि पचास वर्षसम्म उमेर पुगेका र परमप्रभुले बास गर्ने पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम तिनीहरूले सूचीमा चढाए। तिनीहरूको सङ्ख्या यस प्रकारको थियो–
गोत्र | सङ्ख्या |
---|---|
कहात | २,७५० |
गेर्शोन | २,६३० |
मरारी | ३,२०० |
जम्मा | ८,५८० । |
49परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक मानिसको नाम लेखियो अनि परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार प्रत्येक मानिसलाई आ-आफ्नो काम गर्ने वा केही कुरो बोक्ने कामको जिम्मेवारी दिइयो।
अहिले सेलेक्ट गरिएको:
गन्ती 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.