YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 6

6
नहेम्‍याहको विरुद्ध जालसाजी
1सन्‍बलत, तोबिया, गेशेम र हाम्रा अरू शत्रुहरूका कानमा हामीले पर्खाल बनाइसकेका र सबै फाँकाहरू बन्‍द गरिसकेको खबर पुग्‍यो। हामीले अझै मूल-ढोकाहरूमा खापाचाहिँ लगाईसकेका थिएनौं। 2यसकारण सन्‍बलत र गेशेमले तिनीहरूसँग ओनो बेँसीमा कुनै गाउँमा भेट गर्न मलाई खबर पठाए। मलाई जोखिममा पार्ने यो तिनीहरूको एउटा उपाय थियो। 3मैले यस्‍तो उत्तर दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा जरुरी काम छ र काम छोडेर म आउन सक्‍दिनँ। तिमीहरूलाई भेट्‍न आएर म यहाँको काम रोक्‍न सक्‍दिनँ।”
4चार पटक तिनीहरूले मलाई यस्‍तो खबर गरे र चारै पटक मैले तिनीहरूलाई त्‍यस्‍तै जवाफ दिएँ।
5तब सन्‍बलतले मलाई पाँचौँ पटक पनि एक जना चाकरद्वारा खबर पठायो। यो खबर एउटा खुल्‍ला पत्रको रूपमा थियो।
6त्‍यहाँ लेखिएको थियो: “गेशेमले मलाई भनेको छ कि तिमी विद्रोह गर्न चाहन्‍छौ भन्‍ने हल्‍ला छिमेकीका देशभरि फैलिएको छ त्‍यसैकारण तिमीले पर्खाल नयाँ गरी बनाउँदै छौ रे। तिमी आफैंलाई राजा बनाउने सुरमा छौ रे। 7कति जना अगमवक्ताहरूलाई तिमी यहूदाका राजा हौ भनी यरूशलेममा घोषणा गर्न तयार पारेका छौ रे। राजाले यो कुरा निश्‍चय सुन्‍नेछन्। यसैले हामी दुवै, भेटेर यसबारेमा कुरा गर्न ठीक ठहर्दछ, यही सल्‍लाह म तिमीलाई दिँदछु।”
8मैले उसलाई उत्तर दिएँ, “तिमीले भनेको कुरा साँचो होइन, यो तिमीले बनाएको कुरा हो।”
9तिनीहरूले हामीलाई काम बन्‍द गराउन तर्साउन खोज्‍थे। मैले प्रार्थना गरें, “हे परमेश्‍वर, मलाई शक्ति दिनुहोस्।”
10त्‍यति बेलातिर म दलायाहको छोरा शमायाहलाई भेट्‍न गएँ। ऊ महेतबेलको नाति थियो र घरदेखि निस्‍कन सक्‍दैनथ्‍यो। उसले मलाई भन्‍यो, “हामी दुई गएर मन्‍दिरको पवित्रस्‍थानमा लुक्‍नुपर्नेछ, कारण तिमीलाई मार्न तिनीहरू आउँदै छन्। कुनै पनि रात तिमीलाई मार्न तिनीहरू आइपुग्‍नेछन्।”
11मैले उत्तर दिएर भनें, “म भाग्‍ने र लुक्‍ने खालको मानिस होइनँ। के म मन्‍दिरमा लुकेर आफ्‍नो प्राण बचाउनेछु भनी तिमी ठान्‍छौ? म कहिल्‍यै त्‍यसो गर्दिनँ।”
12तब मैले यो कुरामा विचार गरें। मैले बुझें कि परमेश्‍वर शमायाहसँग बोल्‍नुभएको थिएन तर तोबिया र सन्‍बलतले घुस दिएर उसलाई त्‍यसो भन्‍न लगाएका थिए। 13मलाई तर्साएर पाप गराउन शमायाहले घुस लिएको थियो। त्‍यसरी मेरो बदनाम गरेर तिनीहरू मेरो बेइज्‍जत भएको हेर्न चाहन्‍थे।
14मैले प्रार्थना गरें, “हे परमेश्‍वर, तोबिया र सन्‍बलतले गरेका काम याद राख्‍नुहोस् र तिनीहरूलाई दण्‍ड दिनुहोस्। मलाई धम्‍की दिएर तर्साउने नोअदिया नाम गरेकी नारी र अरू सबै अगमवक्ताहरूलाई याद गर्नुहोस्।”
काम समाप्‍त हुन्‍छ
15बाउन्‍न दिनसम्‍म काम गरेपछि एलूल भनिने महिनाको पच्‍चीसौं दिनमा पूरा पर्खाल बनिसिद्धिए। 16छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्‍वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।
17यी सबैका बीचमा यहूदी अगुवाहरू तोबियासँग पत्र-व्‍यवहार गरिरहेका थिए। 18तोबियाको ससुरा आराको छोरा शकन्‍याह यहूदी थियो। त्‍यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्‍योबाहेक उसको छोरा यहोहानानले मशुल्‍लामकी छोरीसित विवाह गरेका थियो। मशुल्‍लाम बेरेक्‍याहको छोरा थियो। 19मानिसहरू मेरो सामु आएर तोबियाले गरेका असल कामहरूका बारेमा भन्‍थे र मैले भनेका सबै कुराहरू उसकहाँ पुर्‍याउँथे अनि उसले मलाई धम्‍की दिएर चिठ्ठी पठाइरहन्‍थ्‍यो।

अहिले सेलेक्ट गरिएको:

नहेम्‍याह 6: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्