येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्नुभयो। साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्यो र एकान्त ठाउँ छ। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।” येशूले भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्नुहुन्छ?” येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!” त्यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो। मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे। अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। अनि सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए। त्यहाँ खाने लोग्ने मानिसहरू मात्रै पाँच हजार थिए।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:34-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू