YouVersion लोगो
खोज आइकन

मर्कूस 14:43-65

मर्कूस 14:43-65 सरल नेपाली

येशूले कुरा गर्दागर्दै बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ त्‍यहाँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही नै येशू हो, त्‍यसलाई नै पक्रिएर पहरा दिई लैजानू।” अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्‍वाइँ खायो। त्‍यति बेला नै तिनीहरूले येशूलाई पक्रे। तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्‍यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्‍दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!” त्‍यति नै खेर सबै चेलाहरू येशूलाई छोडेर भागिहाले। एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे। तर उसले आफ्‍नो लुगै छोडेर नाङ्गै भाग्‍यो। तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्‍यहाँ भेला भए। पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्‍न लागे। मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्‍न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्। येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। त्‍यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्‍तो झूटो दोष लगाए, “मानिसले बनाएको यो मन्‍दिरलाई भत्‍काएर मानिसले नबनाएको मन्‍दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्‍यौं।” तैपनि तिनीहरूको बयान मिलेन। प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्‍नु छैन?” तर येशू चुप नै लाग्‍नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्‍चै पवित्र परमेश्‍वरको पुत्र ख्रीष्‍ट नै होस् त?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ अनि एक दिन तपाईंहरूले म मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्‍वर्गबाट बादलमा आउँदैगरेको देख्‍नुहुनेछ!” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र? यसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनिहाल्‍यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्‍यान सजाय दिनैपर्छ!” सबैले भने तिनीहरूमध्‍ये कति जनाले उहाँलाई थुक्‍न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे।

मर्कूस 14 पढ्नुहोस्