YouVersion लोगो
खोज आइकन

मर्कूस 13:28-37

मर्कूस 13:28-37 सरल नेपाली

येशूले अझै भन्‍दैजानुभयो, “नेभाराको रूखबाट केही कुरा सिक। यसको हाँगाहरू टुसाएर पालुवा हालेपछि गरम चढेछ भनेर थाहा हुन्‍छ। त्‍यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍न आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेलसम्‍म यो पुस्‍ता बित्‍नेछैन। आकाश र पृथ्‍वी नै बितेर जानेछन्, तर मैले भनेका कुरा बित्‍नेछैनन्। “त्‍यो दिन र बेला कहिले आइपुग्‍ने हो, त्‍यो ठीकसँग कसैलाई पनि थाहा छैन। स्‍वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्‍यो कुराचाहिँ परमेश्‍वर पितालाई मात्र थाहा छ। त्‍यसैले चनाखो भएर जागै बस किनभने त्‍यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन। “त्‍यो त नोकरहरूलाई घर जिम्‍मा लगाएर डुल्‍न जाने मालिकको कुराजस्‍तो छ। मालिकले आफ्‍ना नोकरहरूलाई आ-आफ्‍नो काम गरिराख्‍नू भनेर कामको जिम्‍मा लगाइदिन्‍छ अनि पालेलाई पनि ‘राम्रो देखरेख गर्नू!’ भनेर अह्राइराख्‍छ। त्‍यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्‍ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्‍न सक्‍छ अनि अचानक आइपुग्‍दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्! तिमीहरूलाई भनेजस्‍तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”

मर्कूस 13 पढ्नुहोस्