एक जना धर्म-गुरुले त्यहाँ भएका सबै कुरा सुनिरहेका थिए। येशूले सदुकीहरूलाई राम्रो जवाफ दिनुभएको देखेर तिनले पनि येशूलाई सोधे, “हे गुरु, परमेश्वरका धार्मिक आज्ञाहरूमा सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले भन्नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्छ। तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’। अनि दोस्रो ठूलो आज्ञाचाहिँ यही हो– ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर’। यीभन्दा ठूला अरू कुनै आज्ञा छैनन्।” यो सुनेर धर्म-गुरुले येशूलाई भने, “साँच्चै तपाईंले ठीक भन्नुभयो, तपाईंले भन्नुभएजस्तै परमेश्वर त एउटै मात्र हुनुहुन्छ, उहाँ बाहेक अरू कोही पनि छैन। यसैकारण मानिसले परमेश्वरलाई पूरा हृदय, पूरा बुद्धि र पूरा शक्तिले प्रेम गर्नुपर्छ अनि आफ्नो छिमेकीलाई चाहिँ आफैंलाई जस्तै प्रेम गर्नुपर्छ। सबै किसिमका बलि र होमबलिहरूभन्दा पनि यी दुई आज्ञापालन गर्नु नै महत्त्वपूर्ण कुरा हो।” तिनको बुद्धिमानी जवाफ सुनेर येशूले भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले पनि येशूलाई प्रश्नहरू सोध्ने आँट गरेन। मन्दिरमा शिक्षा दिइरहँदा येशूले भन्नुभयो, “धर्म-गुरुहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्? परमेश्वरको पवित्र आत्माले दाऊद आफैंलाई त यसो भन्न लगाउनुभएको थियो– परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारूञ्जेलसम्म तिमी मेरो दाहिनेपट्टि बस!’। दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” मानिसहरूको भीडले येशूका शिक्षालाई चाख मानेर सुनिरहेका थिए। फेरि शिक्षा दिंदै येशूले भन्नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्दर वस्त्र लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्। तिनीहरूले विधवाको घरबार खोस्छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्यस्ताहरूले झन् ठूलो सजाय पाउनेछन्।” येशूले मन्दिरमा दान हाल्ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए। अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई। अनि येशूले आफ्ना चेलाहरूलाई डाकेर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”
मर्कूस 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:28-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू