खमिर नहालेको रोटी खाने निस्तार चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आए र सोधे, “तपाईंको लागि चाडको भोज हामी कहाँ ठीक पारौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्नुभएको छ, ‘मेरो बेला भयो। म आफ्ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्छु’।” चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे अनि त्यहीँ नै चाडको भोज ठीक पारे। येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्नुभयो। खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्यो र एक-एक जनाले “साँच्चै मलाई त भन्नुभएको होइन प्रभु?” भनी सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो!” पक्राइदिने यहूदाले पनि भन्यो, “साँच्चै मलाई त भन्नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्यो त तिमी आफैंले नै भन्दै छौ।” खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू। यो नयाँ करार जोड्ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्नलाई बगाइनेछ। म तिमीहरूलाई भन्छु, मेरो पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्जेलसम्म म फेरि यो दाखमद्य पिउनेछैन।” अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्नुभयो। त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै छोड्नेछैन।” येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर कहिल्यै पनि भन्नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्यसै भने।
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:17-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू