येशूले मानिसहरूको धुइरो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्। यसकारण तिमीहरूले उनीहरूले भनेका सबै कुरा गर्नू। तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर्नू किनभने तिनीहरूले अरूलाई त सिकाउँछन्, तर आफूचाहिँ गर्दैनन्। तिनीहरू अरूलाई चाहिँ धर्म-कर्मको गह्रुङ्गो भारी बोकाउँछन्, तर आफू भने त्यो भारी बोक्न त परै जाओस्, औँलाले पनि छुँदैनन्। तिनीहरू सबै कुरा देखाउनको लागि मात्र गर्छन्। तिनीहरू आफ्ना निधार र नाडीका व्यवस्था-पत्री ठूलो-ठूलो बनाउँछन् र धर्मी हुँ भनी देखाउन आफ्नो लुगामा लामा-लामा झुम्का जोड्छन्। तिनीहरू भोजमा आदरको र सभाघरमा उत्तम ठाउँहरूमा बस्न रुचाउँछन्। बजारहरूमा घुम्दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्ने तिनीहरू चाहन्छन्। “तिमीहरूलाई कसैले गुरु नभनून् किनभने तिमीहरू त सबै दाजुभाइहरू नै हौ। तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ। यस पृथ्वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई कसैले अगुवा नभनून् किनभने तिमीहरूका अगुवा एउटै मात्र हुनुहुन्छ, जो मुक्ति दिने ख्रीष्ट हुनुहुन्छ। तिमीहरूमा सबभन्दा ठूलोले चाहिँ सबैको सेवा गर्नुपर्छ। आफैं ठूलो हुन खोज्नेचाहिँ होच्याइनेछ र आफूलाई होच्याउनेचाहिँ ठूलो बनाइनेछ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार छ! तिमीहरू त कपटी छौ। तिमीहरूले स्वर्गको राज्यको ढोकामा ताल्चा मारेका छौ। तिमीहरू आफैं पनि भित्र पस्दैनौ अनि भित्र पस्न खोज्नेहरूलाई पनि पस्न दिँदैनौ। [“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले विधवाहरूको घरबार खोस्छौ र अझै देखाउनलाई लामा-लामा प्रार्थना पो गर्छौ। यसैकारण तिमीहरूले भयङ्कर दण्ड पाउनेछौ।] “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। अरूलाई आफ्नो धर्ममा ल्याउन संसारभरि चहार्छौ र कसैलाई आफ्नो धर्ममा ल्याइहाल्यौ भने उसलाई आफूभन्दा दोब्बर नरकको लायक बनाउँछौ। “ए अन्धा अगुवाहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरूले ‘मन्दिर छोएर शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुन छोएर शपथ खाँदाचाहिँ शपथ लाग्छ’ भनेर सिकाउँछौ। तिमीहरू कस्ता अन्धा र मूर्ख छौ! ठूलो कुरा कुनचाहिँ हो, सुन कि सुनलाई चोख्याउने मन्दिर? फेरि ‘वेदी छोएर शपथ खायौ भने केही पनि हुँदैन, तर वेदीमा चढाइएको भेटी छोएर शपथ खाँदाचाहिँ शपथ लाग्छ’ भनेर सिकाउँछौ। तिमीहरू कस्ता अन्धा! ठूलो कुरा कुनचाहिँ हो, वेदीमा चढाएको भेटी कि भेटीलाई शुद्ध पार्ने वेदी? वेदी छोएर शपथ खानेले त वेदी र यसमा चढाइएका सबै भेटीहरू छोएर शपथ खान्छ! त्यसै गरी मन्दिर छोएर शपथ खानेले चाहिँ मन्दिर र मन्दिरमा रहने परमेश्वरलाई नै छोएर शपथ खान्छ। स्वर्गको नाउँ लिएर शपथ खानेले चाहिँ स्वर्गको सिंहासन र यसमा रहने परमेश्वरकै नाउँमा शपथ खान्छ।
मत्ती 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:1-22
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू