YouVersion लोगो
खोज आइकन

मत्ती 16:1-12

मत्ती 16:1-12 सरल नेपाली

केही फरिसी र सदुकीहरू मिलेर येशूलाई कुरामा फसाउन उहाँकहाँ आए र भने, “यदि तपाईं परमेश्‍वरको तर्फबाट नै आउनुभएको हो भने स्‍वर्गबाट आएको एउटा चिन्‍ह देखाउनुहोस्।” तर येशूले जवाफ दिनुभयो, “घाम डुब्‍न लाग्‍दा तिमीहरू आकाशतिर हेरेर ‘आकाश रातो भयो, अब त भोलि राम्रो दिन हुन्‍छ’ भनी भन्‍छौ। फेरि बिहानै आकाश रातो र अँध्‍यारो हुँदा ‘आज त पानीपर्नेछ’ भन्‍छौ। यसरी आकाशलाई हेरेर मौसम कस्‍तो हुनेछ, त्‍यो त बुझ्‍न सक्‍छौ, तर यस समयमा हुन आउने घटनाको लक्षणचाहिँ तिमीहरू बुझ्‍दैनौ। हिजो-आजका यी मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्। यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर यिनीहरूले योनाको चिन्‍हबाहेक अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्।” त्‍यसपछि येशू तिनीहरूलाई छोडेर त्‍यहाँबाट जानुभयो। उहाँका चेलाहरूले समुद्रपारि आइपुग्‍दा रोटी ल्‍याउन बिर्सेछन् अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि जोगिएर बस!” अनि चेलाहरूले “हामीहरूले रोटी नल्‍याएको हुनाले उहाँले यसो भन्‍नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले। आफ्‍ना चेलाहरूले यसरी कुरा गरिरहेका सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “खै तिमीहरूको विश्‍वास? किन तिमीहरूले रोटी ल्‍याएनौं भनेर आपसमा कुरा गरिरहेका छौ? अझै पनि तिमीहरूले बुझेका छैनौ? पाँच हजार मानिसलाई पाँच वटा रोटीले खुवाउँदा तिमीहरूले कति डाला भरेर उठायौ? के त्‍यो बिर्स्‍यौ? अनि सात वटा रोटीले चार हजारलाई खुवाउँदा कति डाला उठायौ? त्‍यो पनि बिर्स्‍यौ? कस्‍तो अझै नबुझेको! मैले तिमीहरूको रोटीको बारेमा कुरा गरेको होइनँ। मैले त तिमीहरूलाई फरिसी र सदुकीहरूको खमिरदेखि पो होशियार रहनू भनेको हुँ!” अनि बल्‍ल पो चेलाहरूले बुझे, उहाँले रोटी फुलाउने खमिरदेखि जोगिएर बस्‍न भन्‍नुभएको होइन रहेछ, तर उहाँले त फरिसी र सदुकीहरूले दिने शिक्षादेखि पो जोगिएर बस्‍न भन्‍नुभएको रहेछ।

मत्ती 16 पढ्नुहोस्