YouVersion लोगो
खोज आइकन

लूका 22:1-13

लूका 22:1-13 सरल नेपाली

अखमिरी रोटी खाने निस्तार भन्‍ने चाड आउन लागेको थियो। मुख्‍य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्‍थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्‍कै मार्ने युक्ति खोज्‍न लागे। त्‍यसै समय बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेको हृदयमा शैतान पस्‍यो। त्‍यसले मुख्‍य पूजाहारी र मन्‍दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्‍छु’ भन्‍नेबारे सरसल्‍लाह गर्‍यो। यो सुनेर तिनीहरू खुसी भएर त्‍यसलाई पैसा दिने भए। यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्‍क पक्राइदिने मौका खोज्‍न लाग्‍यो। अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्‍यो। येशूले पत्रुस र यूहन्‍नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो। तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ ठीक पारौं?” उहाँले भन्‍नुभयो, “हेर, तिमीहरू सहरमा पस्‍नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ र उसकै पछि-पछि जाओ। जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ, भनिदेओ। उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीँ नै भोज ठीकठाक पार।” तिनीहरू गए अनि सबै कुरा येशूले भन्‍नुभएजस्‍तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्‍यहीँ नै ठीकठाक पारे।

लूका 22 पढ्नुहोस्