लेवी 13
13
छालाका रोगबारे नियमहरू
1परमप्रभुले मोशा र हारूनलाई यी नियमहरू दिनुभयो, 2यदि कसैको छालामा घाउ-खटिरा, पिलो वा सुजन भयो भने त्यो रोग पछि बढेर डरलाग्दो छालाको रोग बन्न सक्छ। त्यसलाई हारूनवंशी पूजाहारीकहाँ लैजानू। 3पूजाहारीले त्यो घाउ वा खटिरा हेर्नेछ र त्यसमाथिका रौँहरू सेता भएका छन् र घाउ वरिपरिका छालाभन्दा गहिरो देखिने भएको छ भने त्यो डरलाग्दो छालाको रोग हो। पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस्। 4त्यो घाउ सेतो छ तर चारैतिरका छालाभन्दा गहिरो देखिने भएको छैन र त्यसका रौँहरू सेता भएका छैनन् भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। 5सातौँ दिनमा पूजाहारीले फेरि त्यसको जाँच गरोस्, घाउ बढेको छैन र अघिको जस्तै देखिन्छ भने त्यसलाई अझ सात दिन अलग छुट्ट्याएर राखोस्। 6फेरि सातौँ दिनमा पूजाहारीले त्यसको जाँच गरोस् र घाउ सुकेको छ, त्यो बढेको छैन भने त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्। त्यो एउटा खटिरा मात्र हो। त्यस मानिसले आफ्नो वस्त्र धोओस् र विधिअनुसार शुद्ध हुनेछ। 7तर पूजाहारीले हेरेर त्यसलाई शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने त्यो फेरि पूजाहारीकहाँ देखा पर्नुपर्छ। 8पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ र घाउ बढेको छ भने त्यसलाई अशुद्ध भनी ठहराउनेछ। त्यो डरलाग्दो छालाको रोग हो।
9कसैलाई डरलाग्दो छालाको रोग लागेको छ भने त्यो पूजाहारीकहाँ लगिनेछ 10र पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि त्यसको छालामा सेतो रङ छ र रौँहरू सेता भएका छन् र घाउ पीपले भरिएको छ भने 11त्यो पुरानो छालाको रोग हो। पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनेछ तर अलग छुट्ट्याएर राख्ने प्रयोजन छैन किनभने त्यो अशुद्ध छ भनी स्पष्ट थाहा भएको छ। 12त्यो छालाको रोग फैलिएर त्यस मानिसको टाउकोदेखि खुट्टैसम्म भरियो भने 13पूजाहारीले फेरि त्यसको जाँच गरोस्। घाउले सारा शरीर ढाकेको देखियो भने पूजाहारीले त्यस मानिसलाई रीतिअनुसार शुद्ध भनी ठहराओस्। त्यसका सारा छाला सेतो भएको छ भने त्यो विधिअनुसार शुद्ध हुन्छ। 14तर घाउ फुट्यो भने त्यही समयदेखि त्यो अशुद्ध हुनेछ। 15पूजाहारीले फेरि त्यसलाई जाँच गर्नेछ र त्यसले घाउ फुटेको देख्यो भने त्यस मानिसलाई अशुद्ध ठहराउनेछ। घाउ फुटेको छ भने त्यसको अर्थ डरलाग्दो छालाको रोग हो र त्यो मानिस अशुद्ध छ। 16तर जब घाउ ठीक भएर सेतो हुन्छ, त्यो मानिस फेरि पूजाहारीकहाँ जानुपर्नेछ। 17पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ। घाउ सेतो भएको छ भने त्यो मानिस विधिअनुसार शुद्ध छ र पूजाहारीले त्यसलाई शुद्ध ठहराओस्।
18यदि कसैको पिलो थियो र त्यो निको भयो 19र पछिबाट सेतो भई त्यो पिलो भएको ठाउँ सुन्नियो अथवा त्यहाँ रातो-रातो सेतो दाग देखा पर्यो भने त्यो मानिस पूजाहारीकहाँ जाओस्। 20पूजाहारीले त्यसलाई जाँच्नेछ र दाग चारैतिरका छालाभन्दा गहिरोमा देखा परेका। त्यसका रौँहरू सेता भएका छन् भने त्यसलाई अशुद्ध ठहराउनेछ। त्यो पिलोमा सुरु भएको डरलाग्दो छालाको रोग हो। 21तर पूजाहारीले जाँच गर्दा त्यसका रौँहरू सेता भएका छैनन् र दाग वरिपरिको छालाभन्दा गहिरो देखिंदैन तर हल्का रङ्गको छ भने पूजाहारीले त्यसलाई अलग छुट्ट्याएर सात दिनसम्म राखोस्। 22दाग फैलियो भने पूजाहारीले त्यसलाई अशुद्ध ठहराओस्, त्यसलाई रोग लागेको छ। 23तर यदि दाग जस्ताको तस्तै छ र बढेको छैन भने त्यो पिलोको दाग मात्र हो अनि पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्।
24आगोले डढेको कुनै एउटा मानिसको बारेमा चाहिँ; आलो मासु सेतो वा रातो-रातो परेको सेतो छ भने 25पूजाहारीले त्यसको जाँच गरोस्। त्यस ठाउँका रौँहरू सेता भएका छन् र घाउ चारैतिरका छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँमा सुरु भएको डरलाग्दो छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराओस्। 26तर रौँहरू सेता भएका छैनन् र घाउ चारैतिरका छालाभन्दा गहिरो छैन तर हल्का रङ्गको छ भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। 27सातौँ दिनमा पूजाहारीले त्यसलाई फेरि जाँच गर्नेछ र त्यो फैलिंदै छ भने त्यो डरलाग्दो छालाको रोग हो र पूजाहारीले त्यसलाई विधिअनुसार अशुद्ध ठहराउनेछ किनभने त्यो डढेको दाग मात्र हो। 28तर यदि त्यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदै गयो भने र हल्का रङ्गको हुँदैगएको छ भने यो डरलाग्दो छालाको रोग होइन। पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराउनेछन् किनभने त्यो डढेको दाग मात्रै हो।
29कुनै पुरुष वा स्त्रीको टाउको वा च्यापुमा घाउ छ भने 30पूजाहारीले त्यसलाई जाँच्नेछ। यदि त्यो चारैतिरका छालाभन्दा गहिरो देखिन्छ र त्यसका रौँहरू पहेँला-पहेँला र पातला छन् भने त्यो डरलाग्दो छालाको रोग हो अनि पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस्। 31यदि पूजाहारीले जाँच्दा घाउ चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। 32सातौँ दिन पूजाहारीले फेरि घाउ जाँच्नेछ र त्यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो छैन र त्यसमा पहेँला-पहेँला रौँहरू छैनन् भने 33त्यस व्यक्तिले घाउको चारैतिरका रौँ खौरोस् र पूजाहारीले त्यसलाई अझै सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। 34सातौँ दिन पूजाहारीले फेरि घाउ जाँचोस् र त्यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने उसले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्। त्यस व्यक्तिले आफ्ना लुगाहरू धुनेछ र त्यो शुद्ध हुनेछ। 35तर शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने, 36पूजाहारीले त्यसलाई फेरि जाँच गर्नेछ। यदि घाउ फैलिएको छ भने उसले पहेँला रौँहरू खोजी हेर्नुपर्दैन, त्यो व्यक्ति अशुद्ध भएको सफासँग बुझिनेछ। 37तर पूजाहारीको मतअनुसार घाउ फैलिएको छैन अनि रौँहरू राम्रा पलाएका छन् भने घाउ निको भएको छ र पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्।
38कुनै पुरुष वा स्त्रीका छालामा सेता दागहरू छन् भने 39पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि दागहरू धमिला सेता छन् भने त्यो छालामा निस्केको दाग मात्र हो र त्यो व्यक्ति विधिअनुसार शुद्ध छ।
40-41कुनै मानिसको टाउकाको अघि वा पछिल्तिरको केश झरेका छन् भने त्यसले त्यो मानिस अशुद्ध हुँदैन। 42तर खुइलेको ठाउँमा रातो-रातो परेको सेतो घाउ देखियो भने त्यो डरलाग्दो छालाको रोग हो। 43पूजाहारीले त्यसको जाँच गरोस् र त्यस्तो खालको घाउ छ भने, 44पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्यसका टाउकोमा डरलाग्दो छालाको रोग भएको छ।
45जसलाई डरलाग्दो छालाको रोग छ, त्यसले फाटेको वस्त्र लाओस्, केश नकोरोस्, अनुहारको तल्लो भाग छोपोस् र “अशुद्ध! अशुद्ध!” भनी कराउने गरोस्। 46त्यस रोगले नछोडेसम्म त्यो अशुद्ध रहनेछ र त्यो छाउनीदेखि बाहिर, अरूहरूदेखि टाढा बस्नुपर्नेछ।
ढुसी सम्बन्धी नियमहरू
47यी कपडाहरूमा ढुसी लाग्यो– ऊनी वा सुती कपडा 48वा त्यस्ता कपडाका टुक्रा वा छाला वा छालाले बनेको कुरा, 49ढुसीको रङ्ग हरियो वा रातो-रातो छ भने त्यो फैलिने ढुसी हो र त्यो पूजाहारीलाई देखाउनुपर्छ। 50पूजाहारीले त्यसको जाँच गर्नेछ र त्यसलाई सात दिनसम्म अलग राख्नेछ। 51सातौँ दिन उसले फेरि त्यसको जाँच गर्नेछ र ढुसी फैलिएको छ भने त्यो कुरो अशुद्ध भएको छ। 52पूजाहारीले त्यसलाई जलाउनेछ किनभने त्यो फैलँदै जाने ढुसी हो, जसलाई आगोले भस्म गर्नुपर्छ।
53तर फेरि त्यसरी जाँच गर्दा पूजाहारीले ढुसी त्यस चीजमा अरू बढी नफैलिएको पायो भने 54उसले त्यसलाई धुन लगाएर अझै सात दिनसम्म अलग्गै राख्नेछ। 55त्यसपछि उसले त्यो फेरि जाँच्नेछ र ढुसी फैलिएको छैन तर त्यसको रङ्ग पनि बदलिएको छैन भने त्यो अझै अशुद्धै छ। त्यो अघिल्तिर वा पछिल्तिर, जतापट्टि कुहेको होस्, त्यसलाई तिमीहरूले जलाउनुपर्नेछ। 56तर पूजाहारीले त्यसरी फेरि जाँचेको बेलामा ढुसी उडेको छ भने उसले त्यो ढुसी लागेको कपडा वा छालाको भाग च्याती हटाउनेछ। 57त्यसपछि पनि ढुसी देखा पर्यो भने त्यो फेरि फैलँदै गएको हो र त्यस चीजका धनीले त्यसलाई जलाइदेओस्। 58त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ।
59सुती वा ऊनी वस्त्रमा वा त्यस्ता कुनै कपडामा वा छालाका वस्तुमा ढुसी लाग्दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्।
अहिले सेलेक्ट गरिएको:
लेवी 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.