YouVersion लोगो
खोज आइकन

यहोशू 3

3
इस्राएलीहरूले यर्दन पार गर्छन्‌
1यहोशू र इस्राएलका सबै मानिसहरू भोलिपल्‍ट बिहानै उठे र छाउनी छोडी शित्तीमबाट हिंडे। तिनीहरू यर्दनको तीरमा आए र नदी पार गर्ने समय पर्खंदै त्‍यहाँ पाल हालेर बसे। 2तीन दिनपछि अगुवाहरू पालका बीचबाट गए 3र मानिसहरूलाई भने, “जब तिमीहरूले पूजाहारीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्‍दुक बोकेका देख्‍छौ, तब पाल उठाएर तिनीहरूको पछि लाग्‍नू। 4तिमीहरू अघि यहाँ आएका थिएनौ र तिनीहरूले बाटो देखाउनेछन्। तर सन्‍दुकको छेउमा नजानू, त्‍यसको एक किलोमिटर जति पछि बस्‍नू।”
5यहोशूले मानिसहरूलाई भने, “आफैंलाई चोख्‍याओ किनभने भोलि परमप्रभुले तिम्रा बीचमा उदेकका कामहरू गर्नुहुनेछ।” 6त्‍यसपछि उनले पूजाहारीहरूलाई करारको सन्‍दुक बोकी मानिसहरूका अघि-अघि हिँड्‍न अह्राए। तिनीहरूले त्‍यसै गरे।
7परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म जे गर्नेछु, त्‍यसले गर्दा इस्राएलका मानिसहरूले तँलाई ठूलो मानिस भनी आदर गर्न थाल्‍नेछन् र मोशासँग झैँ म तँसित छु भनी थाहा पाउनेछन्। 8करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरूलाई भन् कि नदीमा पुगेपछि तिनीहरू पानीमा पसी उभिऊन्।”
9तब यहोशूले मानिसहरूलाई भने, “यहाँ आएर परमप्रभु तिम्राहरू परमेश्‍वर के भन्‍नुहुन्‍छ, सुन। 10तिमीहरूका अघि बढ्दैजाँदा उहाँले निश्‍चय नै कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। जीवित परमेश्‍वर हाम्रा बीचमा हुनुहुन्‍छ भनी 11तिमीहरू त्‍यस बेला बुझ्‍नेछौ, जब सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दुक तिम्रा अघि-अघि यर्दन पार गरी जानेछ। 12इस्राएलको प्रत्‍येक कुलबाट एकएक जना गरी बाह्र जना पुरुषहरू छान। 13सारा पृथ्‍वीका परमप्रभुको करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरूले जब खुट्टा पानीमा हाल्‍छन्, यर्दन नदीको पानी थामिनेछ र एक ठाउँमा राश लागेर थुप्रिनेछ।”
14-15त्‍यो अन्‍न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्‍दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्‍नेबित्तिकै 16नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्‍न पूरा बन्‍द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके। 17मानिसहरू ओबानो भूमिमा हिँडी नदी पार गर्दा करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू यर्दनका बीचमा सुख्‍खा ठाउँमा उभिए। सबै मानिसहरू पारी नतरून्जेल पूजाहारीहरू त्‍यहीँ उभिरहे।

अहिले सेलेक्ट गरिएको:

यहोशू 3: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्