YouVersion लोगो
खोज आइकन

यहोशू 10

10
एमोरीहरूको हार
1यहोशूले यरीहो र त्‍यसका राजालाई झैँ ऐ र त्‍यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्‍ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्‍धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने। 2त्‍यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्‍यो ऐभन्दा ठूलो थियो र त्‍यहाँका मानिसहरू असल लडाकु थिए। 3यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरकहाँ यस्‍तो खबर पठाए, 4“आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्‍यहाँका बासिन्‍दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।” 5यी पाँच एमोरी राजाहरू, यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्‍लोनका राजाहरूले आ-आफ्‍ना सेना एकै गरी मिलाए, गिबोनलाई घेरामा पारे र त्‍यसमाथि आक्रमण गरे।
6गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्‍याग्‍नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्‍ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!”
7यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। 8परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।” 9यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। 10एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्‍केदासम्‍म हमला गरेर खेदे। 11इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्‍म नै ठूला-ठूला असिनाको वर्षाले चुट्‍नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए।
12परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने,
“हे सूर्य, तँ गिबोनमाथि,
र हे चन्‍द्र, तँ अय्‍यालोन बेसीमाथि, अडेर बस्!”
13 # 2 शमूएल 1:18 इस्राएली जातिले आफ्‍ना शत्रुलाई विजय नगरेसम्‍म सूर्य अडिरह्यो अनि चन्‍द्र रोकियो। यो याशारको पुस्‍तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्‍यो र एक दिनभरि अस्‍ताएन। 14त्‍यसको अघि वा पछि कहिल्‍यै पनि त्‍यस्‍तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्‍नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो!
15त्‍यसपछि यहोशू र उनका सेना आफ्‍ना छाउनी गिलगालमा फर्की गए।
यहोशूले पाँच एमोरी राजाहरूलाई कब्‍जा गर्छन्
16ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्‍केदाका ओडारमा लुके। 17कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए। 18उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्‍टाइदेओ। त्‍यहाँ केही पहरादार राख। 19तर तिमीहरू आफैं त्‍यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्‍ना सहरमा पुग्‍न नदेओ! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।” 20यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्‍ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्। 21त्‍यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्‍केदाको छाउनीमा उनीकहाँ फर्की गए।
इस्राएलीहरूका विरुद्धमा त्‍यस देशका कसैले केही भन्‍ने आँट गरेन।
22यहोशूले भने, “ओडारको मुख खोलेर ती पाँच राजाहरूलाई मकहाँ ल्‍याओ।” 23ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्‍लोनका राजाहरूलाई बाहिर निकालियो। 24अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्‍न लाए। तिनीहरूले त्‍यसै गरे। 25तब यहोशूले अधिकृतहरूलाई भने, “नडराओ अनि हताश नहोओ। साहस गर र भरोसा राख किनभने तिम्रा सबै शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुनेछ।” 26त्‍यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्‍डाए। त्‍यहाँ तिनका लाश साँझसम्‍म झुण्‍डिरहे। 27घाम अस्‍ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्‍याँकिदिए। ओडारको मुखमा ठूल्‍ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्‍म त्‍यहीँ छन्।
अरू एमोरी देशहरू कब्‍जा गरिन्‍छन्
28त्‍यस दिन यहोशूले हमला गरी मक्‍केदा र त्‍यसका राजालाई कब्‍जा गरे। सहरमा भएका हरेकलाई तिनले मारे, कोही जिउँदो छोडिएन। तिनले यरीहोका राजालाई गरेझैँ मक्‍केदाका राजालाई पनि गरे।
29त्‍यसपछि यहोशू र तिनका सेना मक्‍केदाबाट लिब्‍ना गए र त्‍यसलाई आक्रमण गरे। 30परमप्रभुले त्‍यस सहर र त्‍यसका राजामाथि पनि इस्राएलीहरूलाई विजय दिनुभयो। तिनीहरूले कसैलाई छोडेनन् र त्‍यहाँ भएका सबै जनालाई मारे। यरीहोका राजालाई जस्‍तै त्‍यहाँका राजालाई पनि गरे।
31त्‍यसपछि यहोशू र तिनका सेना लिब्‍नादेखि लाकीशमा गए र त्‍यसलाई घेरेर आक्रमण गरे। 32लडाइँ भएको दोस्रो दिन परमप्रभुले इस्राएलीहरूका हातमा लाकीश दिनुभयो। लिब्‍नामा झैँ तिनीहरूले कसैलाई छोडेनन् तर सहरमा पनि हरेकलाई मारे। 33गेजेरका राजा होरामचाहिँ लाकीशलाई मद्दत गर्न आए तर तिनी र तिनका सेनालाई यहोशूले हराए र कसैलाई जिउँदो छोडेनन्।
34त्‍यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्‍लोन गए, त्‍यसलाई घेरा हाले र आक्रमण गरे। 35त्‍यही दिन तिनीहरूले त्‍यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्‍यहाँका सबै जनालाई मारे।
36-37त्‍यसपछि यहोशू र तिनका सेना एग्‍लोनबाट उँभो पहाडतिर लागे र हेब्रोनमा पुगे अनि त्‍यसलाई आक्रमण गरी कब्‍जामा लिए। तिनीहरूले त्‍यसका राजा, प्रजा र अरू छेउ-छाउका सहरका मानिसहरूलाई पनि मारे। जसरी एग्‍लोनलाई गरेथे, त्‍यसरी नै हेब्रोन सहरलाई पनि पूरा विनाश गर्ने आज्ञा यहोशूले दिए। त्‍यहाँ भएको कोही पनि जिउँदो छोडिएन।
38तब यहोशू र तिनका सेना दबीरतर्फ फर्के र त्‍यसमाथि हमला गरे। 39त्‍यो राजासहित कब्‍जामा लिए र छेउछाउका सबै सहरहरू पनि कब्‍जा गरे। त्‍यहाँ भएका सबै मानिसहरूलाई तिनीहरूले मारे। जसरी हेब्रोन र लिब्‍ना र त्‍यहाँका राजाहरूलाई गरेथे, त्‍यसरी नै यहोशूले दबीर र त्‍यसका राजालाई पनि गरे।
40यहोशूले सारा देश आफ्‍ना अधिकारमा लिए। तिनले पहाडी देश, पूर्वका भिरालो भूमि र पश्‍चिमका पहाडका फेदीमा भएका र दक्षिणका सुक्‍खा इलाकाका राजाहरूलाई जिते। तिनले कसैलाई छोडेनन्, सबै जनालाई मारे। परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यही आज्ञा दिनुभएको थियो। 41यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्‍मै पुगे। 42एकै धावामा यहोशूले ती सबै राजा र तिनका देशहरू आफ्‍ना अधिकारमा लिए किनभने परमप्रभु इस्राएलका परमेश्‍वर तिनीहरूका पक्षमा लडाइँ गर्दै हुनुहुन्‍थ्‍यो। 43त्‍यसपछि यहोशू र तिनका सारा सेना गिलगालको छाउनीमा फर्के।

अहिले सेलेक्ट गरिएको:

यहोशू 10: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्