YouVersion लोगो
खोज आइकन

अय्‍यूब 12

12
अय्‍यूबले उत्तर दिन्‍छन्‌:
1-2हो! हो! तपाईंहरू नै सबै मानिसहरूका आवाज हुनुहुन्‍छ।
हो, तपाईंहरू मर्दा सम्‍पूर्ण बुद्धि पनि नष्‍ट हुनेछ।
3तर मेरो पनि तपाईंहरूको जत्तिकै बुद्धि छ।
म केही कुरामा तपाईंहरूभन्दा कम छैनँ।
तपाईंहरूले भनेका कुरा प्रत्‍येकलाई थाहा छ।
4अब मेरा साथीहरूले पनि मेरो हाँसो उडाउँछन्।
म धर्मी र निर्दोष छु, तापनि तिनीहरूले मलाई खिसी गर्छन्।
तर कुनै यस्‍तो समय पनि थियो, जब मैले पुकार्दा परमेश्‍वरले मलाई जवाफ दिनुहुन्‍थ्‍यो।
5तपाईंहरूले दु:ख पाउनुभएको छैन र पनि मेरो हाँसो गर्नुहुन्‍छ।
ढल्‍न लागेको मानिसलाई तपाईंहरूले हिर्काउनुहुन्‍छ।
6परमेश्‍वर नमान्‍नेहरू र डाँकुहरू शान्‍तिमा बास गर्छन्।
तर तिनीहरूको निम्‍ति आफ्‍नो बल नै तिनीहरूका ईश्‍वर हुन्।
7पशु-पक्षीहरूले पनि तपाईंहरूलाई धेरै कुरा सिकाउन सक्‍छन्।
8पृथ्‍वी र समुद्रका जीव-जन्‍तुहरूबाट बुद्धि माग्‍नुहोस्।
9परमप्रभुले आफ्‍नो हातले यी सबै गर्नुभएको हो भनी
तिनीहरू जान्‍दछन्।
10सम्‍पूर्ण प्राणीका जीवन उहाँले चलाउनुहुन्‍छ।
प्रत्‍येक मानिसको जीवन उहाँको हातमा छ।
11के जिब्रोले भोजन चाखेजस्‍तै
तपाईंहरूको कानले बोलीको जाँच गर्दैन र?
12-13बुढापाकाहरूसित बुद्धि छ तर परमेश्‍वरसित बुद्धि र शक्ति छन्।
बुढापाकाहरूसित अन्‍तर्दृष्‍टि छ तर परमेश्‍वरसित अन्‍तर्दृष्‍टि र कर्मशक्ति छन्।
14परमेश्‍वरले भत्‍काउनुभयो भने कसले फेरि बनाउन सक्‍ला र?
परमेश्‍वरले कैदमा हाल्‍नुभयो भने कसले त्‍यसलाई छुटाउन सक्‍ला?
15परमेश्‍वरले वर्षा रोक्‍नुहुँदा खडेरी पर्दछ।
उहाँले वर्षा पठाउँदा बाढी आउँछ।
16बल र विजय परमेश्‍वरका हुन्।
धोका दिने र धोका खाने दुवै उहाँको हातमा छ।
17उहाँले सल्‍लाहकारहरूलाई निर्बुद्धि तुल्‍याउनुहुन्‍छ
र न्‍यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्‍छ।
18-19उहाँले राजाहरूलाई राज-गद्दीबाट हटाएर कैदी बनाउनुहुन्‍छ।
उहाँले पूजाहारीहरू र भारदारहरूलाई होच्‍याउनुहुन्‍छ।
20उहाँले विश्‍वासयोग्‍य मानिसहरूको बोली बन्‍द गर्नुहुन्‍छ
र बुढापाकाहरूको अन्‍तर्दृष्‍टि मेटिदिनुहुन्‍छ।
21उहाँले शासकहरूमाथि बदनाम ल्‍याउनुहुन्‍छ
र अधिकारीहरूको शक्ति नाश गर्नुहुन्‍छ।
22उहाँले अन्‍धकारका रहस्‍यहरू खोलिदिनुहुन्‍छ,
र घोर अन्‍धकारमा उज्‍यालो ल्‍याउनुहुन्‍छ।
23उहाँले जाति-जातिलाई महान् र शक्तिशाली बनाउनुहुन्‍छ,
तर तिनीहरूलाई फेरि खसालेर नष्‍ट गर्नुहुन्‍छ।
24तिनीहरूका अगुवाहरूलाई उहाँले मूर्ख बनाउनुहुन्‍छ
र बाटो नभएको ठाउँतिर अचेत भई बरालिन दिनुहुन्‍छ।
25तिनीहरू अँध्‍यारोमा छामछाम-छुमछुम गरी हिँड्छन्
र जँड्याहाझैँ लरबरिंदै हिँड्छन्।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 12: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्