निस्तार भन्ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्थे। येशू आउनुभएको खुसीयाली मा तिनीहरूले खाना तयार गरे। मार्थाले खाना टक्र्याउँदै थिइन्। लाजरसचाहिँ येशू र अरू पाहुनाहरूको साथमा टेबिलमा ढल्कँदै खान लागेका थिए। त्यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्धित अत्तर ल्याइन् र त्यसलाई येशूको पाउमा घसेर आफ्नै कपालले पुछिन्। त्यो अत्तरको बास्नाले घरै भरियो। प्रभुलाई विश्वासघात गर्ने चेला यहूदा इस्करियोतले भन्यो, “यो अत्तर त तीन सय चाँदीका सिक्कामा बेचेर गरीबलाई दिए भइहाल्थ्यो नि, किन नदिएको?” उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्न दिइएको थियो र उसले यसबाट पैसा झिक्ने गर्थ्यो। येशूले भन्नुभयो, “भइहाल्यो, उसलाई केही नभन! मलाई गाड्ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्। गरीबहरू त सधैँ तिमीहरूसँगै हुन्छन्, तर म त सधैँ हुन्नँ।” येशू बेथानियामा हुनुहुन्छ भन्ने थाहा पाएर धेरै मानिसहरू त्यहाँ आए। तिनीहरू येशूलाई हेर्न मात्र होइन, तर उहाँले मरेकोबाट बिउँताउनुभएको लाजरसलाई पनि हेर्न आएका थिए। यसो हुँदा मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने निधो गरे किनभने लाजरस बिउँतिएकोले गर्दा धेरै यहूदीहरूले तिनीहरूलाई छोडेर येशूमा विश्वास गर्न लागेका थिए।
यूहन्ना 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू