YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-28

यूहन्‍ना 1:1-28 सरल नेपाली

सृष्‍टि हुनुभन्दा अघि नै वचन हुनुहुन्‍थ्‍यो। वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो र वचन परमेश्‍वर नै हुनुहुन्‍थ्‍यो। उहाँ सृष्‍टि हुनुभन्दा अघि परमेश्‍वरसँगै हुनुहुन्‍थ्‍यो। वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्‍यही जीवन नै मानिसहरूको उज्‍यालो थियो। त्‍यो उज्‍यालो अन्‍धकारमा चम्‍कन्‍छ। अन्‍धकारले कहिल्‍यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्‍वरले यूहन्‍ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्‍यालोलाई चिनेर विश्‍वास गर्न सकून् भनी परमेश्‍वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्‍ना आफैंचाहिँ त्‍यो उज्‍यालो थिएनन्, उनी उज्‍यालोलाई चिनाउन आएका थिए। त्‍यो उज्‍यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्‍यालो हुनुहुन्‍छ। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्‍वास गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्‍तान हुने हक दिनुभयो। तिनीहरूले मानिस र उसको शारीरिक इच्‍छा-अभिलाषाबाट जन्‍म पाएका होइनन्, तर परमेश्‍वर नै तिनीहरूका पिता हुनुहुन्‍छ। वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्‍यले भरिपूर्ण हुनुहुन्‍थ्‍यो। हामीले उहाँको ठूलो महिमा देख्‍यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो। यूहन्‍नाले उहाँको बारेमा गवाही दिएका थिए। उनले कराएर भने, “मपछि आउनुहुने मभन्दा धेरै महान् हुनुहुन्‍छ किनभने उहाँ म जन्‍मिनुभन्दा अघि नै हुनुहुन्‍थ्‍यो। मैले भनेको यो कुरा उहाँकै बारेमा हो।” उहाँको भरिपूर्णताबाट हामी सबैले धेरैभन्दा धेरै अनुग्रह पाइरहेका छौं किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरको अनुग्रह र सत्‍यता पाएका छौं। परमेश्‍वरलाई कसैले पनि कहिल्‍यै देखेको छैन। तर परमेश्‍वरसँग हुनुहुने एकमात्र पुत्रले उहाँलाई देखाउनुभएको छ। यरूशलेमका यहूदी अगुवाहरूले केही पूजाहारी र मन्‍दिरको सेवामा सघाउने लेवीहरूलाई ‘यूहन्‍ना को रहेछन्’ भनी बुझ्‍न पठाए। यूहन्‍नाले नअन्‍कनाई सोझै जवाफ दिँदै भने, “म मुक्ति दिने राजा ख्रीष्‍ट होइनँ।” उनीहरूले सोधे, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” यूहन्‍नाले भने, “अहँ, म होइनँ।” उनीहरूले सोधे, “के तिमी अगमवक्ता हौ त?” “होइनँ!” यूहन्‍नाले जवाफ दिए, उनीहरूले भने, “तिमी को हौ, भन न त! हामीलाई पठाउनेकहाँ हामीले जवाफ लैजानुपर्छ। तिमी आफैंलाई को हुँ भन्‍छौ त?” यूहन्‍नाले भने, “यशैया अगमवक्ताले भनेझैँ म ‘प्रभु आउनुहुने बाटो तयार पार’ भनेर उजाड-स्थानमा कराउने आवाज हुँ।” ती सोध्‍न आउनेहरूलाई फरिसीहरूले पठाएका थिए। उनीहरूले यूहन्‍नालाई सोधे, “यदि तिमी ख्रीष्‍ट पनि होइनौ एलिया पनि होइनौ अनि हामीले आशा गरेका अगमवक्ता पनि होइनौ भने बप्‍तिस्‍मा किन दिँदै छौ त?” यूहन्‍नाले जवाफ दिए, “म त खालि पानीले मात्रै बप्‍तिस्‍मा दिन्‍छु। तर तिमीहरूको माझमा तिमीहरूले नचिनेका एक जना हुनुहुन्‍छ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ र म उहाँको जुत्ताको फित्ता फुकाउने योग्‍यको पनि छैनँ।” यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्‍मा दिने गरेको ठाउँ बेथानियामा भएका थिए।

यूहन्‍ना 1 पढ्नुहोस्