यर्मिया 2
2
इस्राएलप्रति परमेश्वरको वास्ता
1परमप्रभुले मलाई भन्नुभयो, 2“तैँले यो सन्देश यरूशलेममा भएका प्रत्येकलाई सुना:
‘ए इस्राएल, मलाई याद छ कि तेरो जवानी अवस्थामा तँ कति विश्वासयोग्य थिइस्, दुलहीले जस्तो तैँले कसरी मलाई प्रेम गर्थिस्।’ मरुभूमिमा, केही नउम्रने उजाड-स्थानमा तैँले मलाई पछ्याएर हिंड्थिस्।
3इस्राएल, तँ मेरो निम्ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्येकलाई मैले कष्ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।”
इस्राएलका पुर्खाहरूका पाप
4हे याकूबका सन्तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्देश सुन। 5परमप्रभु भन्नुहुन्छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्मा भए।
6मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्कै-ढिस्का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्याएर ल्याएँ र पनि तिनीहरूले मेरो केही वास्ता गरेनन्।
7मैले तिनीहरूलाई एउटा मलिलो भूमिमा त्यसका अन्नबाली र अरू असल-असल कुराहरू खाऊन् भनी ल्याएँ। तर त्यसका सट्टामा तिनीहरूले मेरो भूमिलाई बिटुलो पारे र मैले तिनीहरूलाई दिएको देश अशुद्ध बनाए।
8पूजाहारीहरूले ‘परमप्रभु कहाँ हुनुहुन्छ’ भनेर पनि सोधेनन्? व्यवस्था सिकाउनेहरू आफैंले पनि मलाई चिनेनन्। शासकहरूले पनि मसित विद्रोह गरे। अगमवक्ताहरूले चाहिँ बाल-देवताका नाममा अगमवाणी बोले र काम नलाग्ने मूर्तिहरूको पूजा गरे।
परमेश्वरको प्रजाको पाप
9यसकारण, “म परमप्रभु मेरा प्रजाको विरुद्धमा आफ्नो मुद्दा फेरि सुनाउँदछु, म तिनीहरूका सन्तान-सन्तानका विरुद्धमा मुद्दा ल्याउनेछु।
10पश्चिमतिर साइप्रस टापुमा हेर्न जाऊन्, पूर्वतिर केदार देशमा कसैलाई खोजी गर्न पठाऊन्, यस्तो कुरो अघि कहिल्यै पनि भएको देख्नेछैनौ।
11अरू कुनै जातिले आफ्ना देवताहरू कहिल्यै बदलेका छैनन्, यद्यपि ती देवताहरू साँचा ईश्वरहरू होइनन्। तर मेरा प्रजाले मलाई त्यस्ता देवताहरूसित साटे, तिनीहरूले आफ्नो महिमा ती बेकामको देवताहरूसित साटे।
12यसकारण हे आकाश मण्डल, थरथरी होओ, भयभीत होओ, चकित होओ
13किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्नो निम्ति चुहुने फुटेको पानी कुण्ड बनाएका छन्।
इस्राएलको अविश्वासको फल
14“इस्राएल कमारो होइन, त्यो कमारो भएर जन्मेको होइन। तब किन त्यो त्यसका शत्रुहरूको शिकार भयो?
15तिनीहरू त्योमाथि सिंहहरूझैँ गर्जेका छन् र त्यसको देश उजाड पारिदिएका छन्। त्यसका सहरहरू विध्वंस पारिएका छन् र त्यागिएका छन्।
16अँ, नोप र तहपनेसका मानिसहरू आएर त्यसको शिरको मुकुट भाँचिदिएका छन्।
17ए इस्राएल, म परमप्रभु तेरा परमेश्वरले तँलाई बाटोमा डोर्याउँदैथें तर तैँले चाहिँ मलाई त्यागिस् र तँ आफैंले यो कुरा आफूमाथि ल्याइस्।
18नील नदीको पानी पिउन मिश्रमा गएर अथवा यूफ्रेटिस नदीको पानी पिउन अश्शूर देशमा गएर तँलाई के लाभ हुन्छ र?
19तेरो आफ्नै दुष्ट्याइँले तँमाथि दण्ड ल्याउनेछ र तैँले मलाई त्यागेकोले तैँले आफैंलाई दोष्याउनेछस्। म परमप्रभु तेरा परमेश्वरलाई त्याग्नु र मप्रति अभक्ति रहनु कति दुष्ट्याइँ र तीतोपना हुन्छ, सो तैँले बुझ्नेछस्। म सार्वभौम सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
इस्राएलले परमप्रभुलाई पुज्न छोडेका
20सार्वभौम परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, धेरै समय अघिदेखि तैँले मेरो अधिकारलाई इन्कार गरिस्, तैँले मेरो आज्ञापालन गर्न र मलाई पुज्न छोडिदिइस्। हरेक अग्लो डाँडामा र हरेक हरियो रूखमुनि तैँले अरू देवी-देवतासँग वेश्याजस्तै कुकर्म गरिस्।
21आफूलाई खुबै मन परेको दाखलताझैँ उत्तम बिरुवा लिएर तँलाई रोपेको थिएँ। तर हेर, अब के भइस्। तँ एउटा सडेको बेकम्मा दाखको बोट मात्र भएको छस्।
22कडाभन्दा कडा साबुनले जति धेरै आफूलाई धोइस् भने पनि तेरो अपराधका दाग मेरा आँखाअघि रहिरहनेछ।
23मैले आफूलाई अशुद्ध पारेको छैनँ, बाल-देवतालाई पुजेको छैनँ भनी तँ कसरी भन्न सक्छस्? तैँले बेसीमा पाप गरेको थिइस् र के-के गरेको थिइस्, ती हेर्। उत्तेजित भएको ऊँटझैँ छाडा भएर तँ यताउति दगुरिबस्छेस्।
24निर्जनस्थानमा रहने बानी भएको कामातुर भएर हावामा सुँघी हिंड्ने जङ्गली गधैनीजस्तै तँ भएको छस्। कसले त्यसलाई वशमा पार्न सक्छ? त्यसलाई खोज्न गधालाई केही दु:ख गर्नुपर्दैन, त्यसका ऋतुमा त्यसलाई भेट्टाइहाल्छ।
25ए इस्राएल, अन्य देवताहरूको पछि लागेर आफ्ना खुट्टा नदुखा, घाँटी नसुका। तर तँ भन्छस् ‘होइन! म ती छोड्न सक्दिनँ। मैले विदेशी देवी-देवताहरूलाई प्रेम गरेको छु। मैले तिनीहरूलाई पछ्याउनैपर्छ’।”
दण्डको योग्य इस्राएल
26परमप्रभु भन्नुहुन्छ, “एउटा चोर पक्राउ पर्दा जसरी त्यसको बेइज्जती हुन्छ, त्यसरी नै तिमीहरू इस्राएलका सबै मानिसहरूका राजाहरू, भारदारहरू, पूजाहारीहरू र अगमवक्ताहरू सबैको बेइज्जत हुनेछ। 27रूखलाई ‘बुबा’ र ढुङ्गालाई ‘आमा’ भन्ने तिमीहरू सबैको बेइज्जत हुनेछ। तिमीहरूले मतिर आफ्ना मुख होइन, तर पिठ फर्काएका हुनाले त्यसो हुनेछ। तरै पनि तिमीहरू कष्टमा पर्दाचाहिँ आएर हामीलाई बचाउनुहोस् भनी मलाई पुकारा गर्छौ।
28“तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरू कष्टमा पर्दा तिनीहरूले सक्छन् भने तिमीहरूलाई बचाऊन्। ए यहूदा, जति तेरा सहरहरू छन्, त्यति नै तेरा देवी-देवताहरू पनि छन्। 29तिमीहरूको गुनासो के छ? तिमीहरूले किन मेरो विरुद्ध विद्रोह गर्यौ? 30मैले तिमीहरूलाई दण्ड दिएँ तर त्यसको केही लाभ भएन, तिमीहरूले मेरो दण्डबाट केही शिक्षा लिएनौ। रिसले आगो भएको सिंहले झैँ तिमीहरूले आफ्ना अगमवक्ताहरूको हत्या गर्यौ। 31यो पुस्ताका इस्राएलका मानिसहरू हो, मेरा कुरामा कान थाप। के म तिमीहरूको निम्ति एउटा मरुभूमि अथवा अन्धकारको देशजस्तै भएँ? तब किन तिमीहरू हामी आफू खुसी गर्नेछौं र फेरि तपाईंकहाँ आउनेछैनौं भन्छौ? 32के तरुनीले आफ्ना गहनापात अथवा दुलहीले आफ्ना बिहेका वस्त्र बिर्सिन्छे र? तर मेरा प्रजाले मलाई कति दिनदेखि भुलिसके, त्यसको गन्ती नै छैन। 33तँ प्रेमी खोज्न कति सिपालु छस्, खराबभन्दा झन् खराब स्त्रीले त्यसबारे तँबाट सिक्न सक्छे। 34तेरो वस्त्रमा निर्दोष गरीबहरूका रगतको दाग लागेको छ, डाकुको रगतको त होइन।
“तर यी सबै हुँदाहुँदै पनि 35तँ यसो भन्छस्, ‘म त निर्दोष छु, अवश्यै परमप्रभु मसित रिसाउनुभएको छैन।’ तर तैँले पाप गरेको कुरा अस्वीकार गरेको कारणले नै म परमप्रभुले तँलाई दण्ड दिनेछु। 36आफ्नो चाल बदलेर तँ किन छाडा भई हिंड्छस्। जसरी तँलाई अश्शूरले धोका दियो, त्यसरी नै मिश्रले पनि तँलाई धोका दिनेछ। 37लाजले टाउको निहुराएर तँ मिश्रबाट फर्कनेछस्। तैँले भरोसा राखेकाहरूलाई म परमप्रभुले इन्कार गरेको छु, तिनीहरूबाट तँलाई केही लाभ हुनेछैन।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.