यशैया 33
33
सहायताको लागि प्रार्थना
1हाम्रा शत्रुहरू नाश हुनेछन्! तिनीहरूले डाँका मारेका र धोका दिएका छन् तर तिनीहरूलाई भने कसैले त्यसो गरेका छैनन्। तर तिनीहरूको डाँका मार्ने र धोका दिने बेला बितिसक्यो र तिनीहरूमाथि पो डकैती र धोकाबाजी हुनेछ।
2हे परमप्रभु, हामीहरूमाथि दया गर्नुहोस्। हामीले तपाईंमा आशा गरेका छौं, दिन-दिन हाम्रो रक्षा गर्नुहोस् र कष्टका समयमा हामीलाई बचाउनुहोस्। 3तपाईंले हाम्रो निम्ति लडाइँ गरिदिनुहुँदा तपाईंको आवाजको गर्जन सुनेर जाति-जातिहरू भाग्छन्। 4झम्टेर तिनीहरूका सर-सामान खोसिनेछन् र लुटका मालझैँ लगिनेछन्।
5परमप्रभु कति महान् हुनुहुन्छ! उहाँ उच्चमा विराजमान् हुनुहुन्छ। उहाँले न्याय र इमानदारीले यरूशलेम भरपूर पार्नुहुनेछ 6र देशलाई स्थिर बनाउनुहुनेछ। उहाँले सधैँ आफ्ना प्रजालाई रक्षा गर्नुहुन्छ र तिनीहरूलाई ज्ञान र बुद्धि दिनुहुन्छ। परमप्रभुसितको सम्मान नै तिनीहरूको सबैभन्दा ठूलो धन हो।
7वीर मानिसहरूले सहायताको निम्ति पुकारा गरिरहेका छन्। शान्ति ल्याउन चेष्टा गर्ने राजदूतहरू धुरुधुरु रोइरहेका छन्। 8राजमार्ग यस्तो खतरनाक छ कि कोही त्यो बाटो हिँड्दैनन्। सन्धिहरू तोडिंदछन् र सम्झौताहरू रद्द गरिन्छन्। कुनै मानिसको केही आदर छैन। 9देश अल्छे र निर्जन भएको छ। लेबनानको बन ओइलाइसकेको छ, शारोनको मलिलो भूमि उजाड भइसकेको छ अनि बाशान र कर्मेल पर्वतमा रूखका पातहरू झरिरहेका छन्।
शत्रुहरूलाई परमप्रभुको चेतावनी
10परमप्रभुले जाति-जातिलाई भन्नुहुन्छ, “अब म काम गर्नेछु। म कति शक्तिशाली छु, त्यो म देखाउनेछु। 11तिमीहरू व्यर्थका युक्तिहरू बनाउँदछौ र तिमीहरूले गरेका सबै काम व्यर्थका हुन्। मेरो आत्मा तिमीहरूलाई भस्म पार्ने आगोझैँ छ। 12चुन पार्नलाई चट्टान जलाएझैँ र खरानी पार्नलाई काँडा डढाएझैँ तिमीहरू हुनेछौ। 13टाढा र नजिक सबै ठाउँका मानिसहरूले मेरा कामबारे सुनून् र मेरो शक्ति स्वीकार गरून्।”
14सियोनका पापी मानिसहरू डरले कामिरहेका छन्। तिनीहरू भन्छन्, “परमेश्वरको न्याय सदासर्वदा जलिरहने आगोझैँ छ। के हामी कोही यस्तो आगोबाट बाँच्न सक्छौं?” 15यदि तिमीहरूले ठीक कुरा बोल्यौ भने र ठीक काम गर्यौ भने तिमीहरू बाँच्नेछौ। तिमीहरूको बल गरीबलाई ठग्नलाई नचलाओ र घुस नखाओ। हत्या वा अन्य दुष्कर्म गर्नेहरूसित नलाग। 16अनि तिमीहरू कुशल रहनेछौ, एउटा बलियो किल्लामा बास गरेझैँ सुरक्षित हुनेछौ। तिमीहरू खानलाई भोजन र पिउनलाई पानी पाउनेछौ।
गौरवपूर्ण भविष्य
17फेरि एक पल्ट तिमीहरूले चारैतिर फैलिएर गएको राज्यमा एउटा राजाले गौरवसाथ राज्य गरेका देख्नेछौ। 18बितेका दिनका विदेशी कर उठाउने मानिस र जासूसहरूको डर अब सम्झना मात्र रहनेछ। 19अब उसो तिमीहरूले आफूले बुझ्न नसक्ने भाषा बोल्ने अहङ्कारी विदेशीहरूलाई देख्नेछैनौ। 20हामीले आफ्ना चाड मनाउने सहर सियोनलाई हेर! यरूशलेमलाई हेर! त्यो कति कुशल बासस्थान हुनेछ! त्यो एउटा कहिल्यै नउठाइने पालजस्तो हुनेछ, जसका किलाहरू कहिल्यै उखेलिंदैनन् र डोरी कहिल्यै चुँडिंदैन। 21परमप्रभुले आफ्नो गौरव हामीलाई देखाउनुहुनेछ। हामी चौडा नदी र खोलाहरूछेउ बास गर्नेछौं तर शत्रुका जहाजहरू त्यहाँ चल्नेछैनन्। 22-23ती जहाजका पाल टाँग्ने सर-सामान व्यर्थ छन्। शत्रुका सेनाका सारा धन-सम्पत्ति हामी कब्जा गर्नेछौं र ती यति धेरै हुनेछन् कि लङ्गडाले पनि आफ्नो बन्डा पाउन सक्छ। परमप्रभु आफैं हाम्रा राजा हुनुहुनेछ। उहाँले हामीमाथि शासन गर्नुहुनेछ र रक्षा गर्नुहुनेछ। 24हाम्रा देशमा बास गर्ने कसैले कहिल्यै बिरामी भएको दु:ख पोखाउनेछैन र सारा पाप क्षमा हुनेछन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 33: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.