YouVersion लोगो
खोज आइकन

यशैया 29

29
यरूशलेमको दुर्दशा
1परमेश्‍वरको वेदी यरूशलेम नाश हुनेछ! दाऊदले छाउनी बनाएको सहर नाश हुनेछ। एक, दुई वर्ष बितून्, चाड-बाड आऊन्, जाऊन्। 2त्‍यसपछि “परमेश्‍वरको वेदी” कहलाइएको त्‍यो सहरमा परमेश्‍वरले विनाश ल्‍याउनुहुनेछ। त्‍यहाँ रुवाइ-कराइ र बिलौना हुनेछ अनि सहरचाहिँ रगतले छोपेको वेदीजस्‍तो हुनेछ। 3परमेश्‍वरले त्‍यस सहरमाथि हमला गर्नुहुनेछ, चारैपट्टि छेकेर घेरामा हाल्‍नुहुनेछ। 4यरूशलेम पातालबाट बोल्‍ने चेष्‍टा गर्ने प्रेतको सोरजस्‍तो र दुलोभित्रबाट निस्‍कने मधुरो सोरजस्‍तो हुनेछ।
5ए यरूशलेम, तँमाथि आइलाग्‍ने विदेशीहरू सबै धुलोझैँ उडाइनेछन् र तिनीहरूका डरलाग्‍दा सेनाहरू भुसझैँ उडिजानेछन्। अचानक र नचिताएका बेलामा 6सर्वशक्तिमान् परमप्रभुले तँलाई प्रचण्‍ड भययोग्‍य गड्याङ्-गुडुङ र भूइँचालोको साथ बचाउनुहुनेछ। आँधी-बेहरी र दन्‍किने आगलागी उहाँले ल्‍याउनुहुनेछ। 7तब परमेश्‍वरको वेदीको सहरमाथि आक्रमण गर्न सेनाहरू सबै तिनीहरूका हात-हतियार र सरसामानहरू सबै थोक सपनाझैँ, रातका कल्‍पनाझैँ बिलाइजानेछन्। 8जसरी भोकाएको मानिसले सपनामा खाएको देख्‍छ तर ब्‍यूझँदा त्‍यो भोकै हुन्‍छ अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्‍छ तर ब्‍यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्‍छ सियोन पर्वतको विरुद्धमा लड्‍ने सबै जाति-जातिका भीडहरूको दशा पनि त्‍यस्‍तै हुनेछ।
वास्‍ता नगरेका चेतावनीहरू
9अझै मूर्ख बन! अझै अन्‍धो होओ! मद्य नपिई मात! एक थोपा मद्य नपिई तिम्रा खुट्टा लरबरियोस्! 10#रोमी 11:8परमप्रभुले तिमीहरूलाई निद्राले लट्ठ पार्नुभएको छ। तिमीहरू घोर निद्रामा पर्न आँटेका छौ। अगमवक्ताहरू मानिसहरूका आँखा हुन् तर परमेश्‍वरले तिनीहरूका आँखामा पट्टी बाँधिदिनुभएको छ। 11हरेक अगमवाणीसम्‍बन्‍धी दर्शनको अर्थ तिमीहरूलाई गुप्‍त राखिनेछ। त्‍यो एउटा मोहोर लाएको बेरुवा पुस्‍तक हुनेछ। कोही पढ्‍न-लेख्‍न जान्‍ने मानिसकहाँ लगेर त्‍यो तिमीहरूले देखाई पढ्‍न लायौ भने त्‍यो उसले पढ्‍न सक्‍दिन भन्‍नेछ किनभने त्‍यसमा मोहोर लागेको छ। 12कोही पढ्‍न नजान्‍नेलाई दिएर पढ्‍न लायौ भने त्‍यसले म पढ्‍न जान्‍दिनँ भन्‍नेछ।
13 # मत्ती 15:8,9; मर्कूस 7:6,7 परमप्रभुले भन्‍नुभयो, “यी मानिसहरूले मलाई पुज्‍नेछन् भनी दाबी गर्छन् तर तिनीहरूका बोलीको केही अर्थ लाग्‍दैन किनभने तिनीहरूको मन मदेखि टाढा छ। तिनीहरूको धर्म तिनीहरूले कण्‍ठै गरेका मानिसका नियमहरू र परम्‍पराहरू मात्र हुन्, अरू केही होइनन्। 14#१ कोरिन्थी 1:19यसकारण म तिमीहरूलाई एकपछि अर्को गरेर झस्‍काउनेछु। जो बुद्धिमान् छन्, तिनीहरू मूर्ख बन्‍नेछन् र तिनीहरूको बठ्याइँ सबै व्‍यर्थ हुनेछ।”
भविष्‍यको निम्‍ति आशा
15ज-जसले आफ्‍ना युक्तिहरू परमप्रभुबाट लुकाउँछन्, तिनीहरूको विनाश हुनेछ। तिनीहरूले गुप्‍तमा आफ्‍ना युक्ति रच्‍दछन् र कसैले हामीलाई देख्‍दैनन् र हाम्रा काम थाहा पाउँदैनन् भन्‍ठान्‍छन्। 16#यशैया 45:9; रोमी 9:20तिनीहरूले हरेक कुरा उल्‍टा-पुल्‍टा पार्दछन्। कुमाले र माटोमा कुनचाहिँ ठूलो हो? के मानिसले बनाएको कुराले उसलाई “तिमीले मलाई बनाएको होइन” भनी भन्‍न सक्‍छ? अथवा बनाएका चीजले त्‍यो बनाउनेलाई “तिमी के गर्दछौ आफैं जान्‍दैनौ” भन्‍दछ?
17केही समयमा घनघोर जङ्गल खेतको मैदान हुनेछ र खेतको मैदानचाहिँ जङ्गलमा बदलिनेछ।
18त्‍यो दिन आउँदा अरूले पुस्‍तक पढेको बहिराले सुन्‍नेछ र अन्‍धकारमा बास गर्ने अन्‍धोले देख्‍नेछ। 19गरीब र नम्र मानिसहरूले फेरि एक पल्‍ट परमप्रभु इस्राएलका पवित्र परमेश्‍वरले दिनुहुने आनन्‍द पाउनेछन्। 20अरू मानिसहरूलाई अत्‍याचार गर्न र परमेश्‍वरलाई अपमान गर्नेहरूको नाम-निशाना मेटिनेछ। हरेक पापी नाश हुनेछ। 21अर्काको निन्‍दा गर्ने, अपराधीलाई दण्‍ड दिने-नदिने र झूटो साक्षी दिएर निर्दोषको न्‍याय बिगार्नेहरू सबैलाई परमप्रभुले नाश पार्नुहुनेछ।
22यसर्थ अब्राहामलाई उद्धार गर्नुहुने इस्राएलका परमेश्‍वर परमप्रभु अब यसो भन्‍नुहुन्‍छ, “हे मेरा प्रजा, अब उसो तिमीहरू बदनाम हुनेछैनौ र तिमीहरूको अनुहार लाजले झुक्‍नुपर्नेछैन। 23जब तिमीहरूले मैले दिएका बाल-बालिका देखौला, तब म इस्राएलका पवित्र परमेश्‍वर हुँ भनी ग्रहण गर्नेछौ। तिमीहरूले मेरो आदर गर्नेछौ र भय मान्‍नेछौ। 24मूर्खहरूले बुद्धि पाउनेछन् र सधैँ गनगन गर्नेहरू शिक्षा प्राप्‍त गर्न रमाउनेछन्।”

अहिले सेलेक्ट गरिएको:

यशैया 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्