YouVersion लोगो
खोज आइकन

यशैया 24

24
पृथ्‍वीमा परमप्रभुको दण्‍ड
1परमप्रभुले पृथ्‍वी विध्‍वंस पार्नुभएर उजाड पारी छोडिदिनुहुनेछ। उहाँले पृथ्‍वीको सतहलाई बङ्ग्‍याउनुहुनेछ र मानिसहरूलाई छरपष्‍ट पार्नुहुनेछ। 2पूजाहारी र प्रजा, मालिक र कमारा, किन्‍ने र बेच्‍ने, ऋण लिने र दिने, धनी र गरीब सबैको भाग्‍य एउटै हुनेछ। 3पृथ्‍वी चकनाचुर भएर ध्‍वस्‍त हुनेछ। यो परमप्रभुले भन्‍नुभएको हो र पूरा हुनेछ।
4पृथ्‍वी सुकेर ओइलिनेछ, दुर्बल हुनेछ अनि पृथ्‍वी र आकाश दुवै सडेर जानेछ। 5परमेश्‍वरका नियम र उहाँले सदासर्वदाको लागि बाँध्‍नुभएको करार तोडेको कारणले मानिसहरूले पृथ्‍वी भ्रष्‍ट पारेका छन्। 6यसकारण परमेश्‍वरले पृथ्‍वीलाई सराप्‍नुभएको छ। मानिसहरूले आफ्‍ना दोषको फल भोग्‍दै छन्। थोरै मानिस बाँच्‍नेछन्। 7दाखका बोटहरू ओइलिनेछन् र दाखमद्य घटेर जाँदैछ। एक समय हर्ष मनाउनेहरूले अब शोक गर्छन्। 8तिनीहरूका वीणा र ढोलकका आनन्‍दमय सङ्गीत बन्‍द भएको छ। 9कसैले पनि मद्य पिई खुसीले गाउँदैन, कसैलाई अब मद्य तीतो भएको छ। 10सहरमा सबै थोक गड्बड् भएको छ। आफ्‍नो सुरक्षाका निम्‍ति मानिसहरू घर थुनेर बस्‍छन्। 11मद्य नपाएकाले मानिसहरू बाटोमा हल्‍ला गर्छन्। खुसीयाली सदाका निम्‍ति बिलायो, देशबाट त्‍यो हरायो। 12सहर ध्‍वस्‍त भएको छ, त्‍यसका मूल-ढोकाहरू भत्‍केर नष्‍ट भएका छन्। 13सारा संसारभरि जाति-जातिको गति यस्‍तै हुनेछ। कटनीको अन्‍तमा सबै फल टिपेर जैतुनको रूख र दाखको बोट नाङ्गै पारेझैँ तिनीहरूको दशा हुनेछ।
14बाँच्‍नेहरूले हर्षले गाउनेछन्। पश्‍चिममा बास गर्नेहरूले परमप्रभु कति महान् हुनुहुन्‍छ भन्‍नेछन्। 15पूर्वमा बास गर्नेहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। समुद्रका किनारमा बास गर्नेहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्नेछन्। 16पृथ्‍वीका टाढा-टाढाबाट धार्मिक जाति इस्राएलको प्रशंसामा गीत गाएको सुनिन्‍छ।
तर मलाई भने केही आशा छैन। म सुकेर जाँदैछु। देशद्रोहीहरूले विश्‍वासघात गरि नै रहेका छन् र तिनीहरूको धोकाबाजी झन्झन् बढेर जानेछ। 17सबैले मेरो कुरा सुन! तिमीहरूलाई त्रास, खाडल र पासोहरूले पर्खिरहेका छन्। 18जो त्रासबाट भाग्‍छ, त्‍यो खाडलमा पर्छ। जो खाडलबाट उम्‍कन्‍छ, त्‍यो पासोमा पर्छ। आकाशबाट मुसलधारे वर्षा हुन्‍छ र पृथ्‍वीका जग हल्‍लन्‍छन्, 19पृथ्‍वी फाट्‍नेछ र चर्केर धाँदो पर्नेछ। 20पृथ्‍वी मतवाला लरबर गर्दै हिँडेझैँ र आँधीमा छाप्रो हल्‍लेझैँ ढुन्‍मुनाउनेछ। संसार पापको भारले दबिएको छ। त्‍यो ढल्‍नेछ र फेरि कहिल्‍यै खडा हुनेछैन। 21त्‍यो दिन आउँदै छ, जब परमप्रभुले आकाशका शक्तिहरूलाई र पृथ्‍वीका शासकहरूलाई दण्‍ड दिनुहुनेछ। 22परमेश्‍वरले राजाहरूलाई कैदीहरूलाई झैँ खाडलमा खाँदाखाँद जम्‍मा गर्नुहुनेछ। तिनीहरूका दण्‍डको समय नआएसम्‍म उहाँले तिनीहरूलाई झ्‍यालखानमा धेरै दिन बन्‍द राख्‍नुहुनेछ। 23जून अँध्‍यारो हुनेछ र घामको चमक हराउनेछ किनभने सर्वशक्तिमान् परमप्रभुले राज्‍य गर्नुहुनेछ। उहाँले नै सियोन पर्वतमाथि यरूशलेममा राज गर्नुहुनेछ र उहाँका अगुवाहरूले उहाँको महिमालाई देख्‍नेछन्।

अहिले सेलेक्ट गरिएको:

यशैया 24: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्