हिब्रू 12
12
परमेश्वर हाम्रा पिता
1हाम्रो लागि त हाम्रै वरिपरि साक्षीहरूको भीड छ। त्यसकारण हाम्रो बाटोमा आइपर्ने बाधाहरू र हामीलाई अल्झाइराख्ने पापहरूलाई हामी पन्साऔं अनि हाम्रो सामने भएको दौड दृढतासाथ दौडौं। 2हाम्रो विश्वास सुरु गर्ने र पूरा पनि गर्ने येशूलाई हेरिरहौं। क्रूसको दु:खको कारण उहाँ पछि हट्नुभएन, तर त्यसको साटो दु:ख भोगेपछि पाइने आनन्दको निम्ति उहाँले क्रूसको बेइज्जती पनि केहीजस्तो मान्नुभएन। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
3पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ। 4तिमीहरूले पापको विरोधमा लड्नुपर्दा आफ्नो प्राण गुमाउञ्जेल त लड्नुपरेको छैन। 5#अय्यूब 5:17; हितोपदेश 3:11,12परमेश्वरले छोराहरूलाई झैँ तिमीहरूलाई यसरी अर्ती दिएको तिमीहरूले भुल्यौ, “ए छोरा, प्रभुले तिमीलाई तह लाउन खोज्नुहुँदा ध्यान देऊ अनि उहाँले तिमीलाई हप्काउनुहुँदा हरेस नखाऊ 6किनभने आफूले प्यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्छ अनि आफ्नै छोरा सम्झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्छ।” 7बुबाले नै तह लाउन खोजेका हुन् भन्ने सम्झेर तिमीहरू दु:ख सहने गर। परमेश्वरले तिमीहरूलाई आफ्नै छोरा-छोरीलाई झैँ व्यवहार गर्नुहुन्छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ। 8उहाँले तिमीहरूलाई आफ्ना छोरा-छोरीलाई झैँ तह लाउनुभएको छैन भने तिमीहरू उहाँका छोरा-छोरी होइनौ, अर्काका छोरा-छोरी हौ। 9हाम्रा बुबाहरूले हामीलाई तह लाए र यसका लागि हामी उहाँहरूलाई आदर गर्छौं। हामीहरूका आत्मिक पिता परमेश्वरको अधीनमा झन् कति धेरै बस्नुपर्छ। 10हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्छ। 11हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्छ। तर यसले हामी तह लाग्नेहरूलाई परमेश्वरको अघि ठीक राख्दछ र शान्त स्वभावको बनाउँछ।
अर्ती र चेतावनीहरू
12 #
यशैया 35:3
यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं। 13#हितोपदेश 4:26सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्।
14सबै मानिसहरूसँग मिलेर बस्न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्न सक्नेछैन। 15#व्यवस्था 29:18होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ। 16#उत्पत्ति 25:29-34कोही पनि छाडा स्वभावको नबन अनि एसावजस्तै परमेश्वरलाई नखोज्ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्नो हकलाई नै बेचेको थियो। 17#उत्पत्ति 27:30-40तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्ना बुबाबाट आशीर्वाद पाउन खोज्यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्दा पनि फिर्ता पाउन सकेन।
18 #
प्रस्थान 19:16-22; 20:18-21; व्यवस्था 4:11,12; 5:22-27 तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्वाला निस्किरहेथ्यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्धकार छाइरहेको थियो। 19तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्तो आवाज सुन्दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्यै सुन्नुनपरोस् भनेर बिन्ती गरेका थिए 20#प्रस्थान 19:12,13किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। 21#व्यवस्था 9:19त्यो दृश्य अति डरलाग्दो थियो। यसैले “म त डरले काम्दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए।
22तर तिमीहरू त सियोन र जिउँदा परमेश्वरको सहर स्वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्वर्गदूतहरू रमाउँदै जम्मा भएको ठाउँमा आएका छौ। 23तिमीहरू परमेश्वरकै जेठो हक पाउनेहरूको मण्डलीमा पुगेका छौ, जसको नाउँ स्वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्यायाधीश परमेश्वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्माहरू भएको ठाउँमा आइपुगेका छौ। 24#उत्पत्ति 4:10तिमीहरू र परमेश्वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ।
25 #
प्रस्थान 20:22
होश राख, तिमीहरूसँग बोल्नुहुनेको आवाजलाई इन्कार नगर। यस पृथ्वीका मानिसबाट दिइएको परमेश्वरको चेतावनी इन्कार गर्नेहरू उम्कन सकेनन् भने झन् स्वर्गबाट बोल्नुहुनेलाई इन्कार गर्यौं भने हामीहरूको गति कस्तो होला? 26#हाग्गै 2:6सीनै पहाडमा परमेश्वरले बोल्नुहुँदा पृथ्वी नै हल्लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई मात्र होइन, स्वर्गलाई समेत अझै एक पटक हल्लाउनेछु।” 27यी “अझै एक पटक” भन्ने शब्दले सृष्टिका कुराहरू नै हल्लाइने र हटाइनेछ भन्ने बुझिन्छ। त्यसो हो भने नहल्लिने कुराहरू मात्र रहनेछन्।
28यसकारण हल्लाउनै नसकिने राज्य हामीले पाएकोमा परमेश्वरलाई धन्यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं 29#व्यवस्था 4:24किनभने साँच्चै हाम्रा परमेश्वर त भस्म गर्ने आगो हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
हिब्रू 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.