विश्वास गरेर नै अब्राहामले परमेश्वरले भन्नुभएको माने। परमेश्वरले उनलाई बोलाएर आफूले प्रतिज्ञा गर्नुभएको देशमा जानू भनेर अह्राउनुभयो। कहाँ जाने थाहै नभई उनी आफ्नो देश छोडेर हिंडे। विश्वासकै भरमा परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्यसै गरी परमेश्वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्यसै गरी बसे। अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए। विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए। यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ। आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे। तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ। परमेश्वरले अब्राहामको जाँच गर्नुहुँदा विश्वासकै भरमा अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भए। परमेश्वरले अब्राहामलाई नै प्रतिज्ञा गर्नुभएको थियो, तर पनि अब्राहाम आफ्नो एउटै छोरालाई बलिदान चढाउन राजी भए। परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको थियो, “इसहाकबाट नै तेरो वंश बढ्नेछ।” इसहाक मरे पनि परमेश्वरले बिउँताउन सक्नुहुन्छ भनेर अब्राहामले विश्वास गरे अनि साँच्चै एक किसिमले इसहाकलाई मृत्युबाट बिउँतेको जस्तै नै फेरि पाए।
हिब्रू 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 11:8-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू