राजाले भने, “सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ। त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे। त्यसपछि सातवटा दुब्ला हाड मात्र भएका गाईहरू निस्किआए। मैले त्यस्ता दुब्ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ। ती दुब्ला गाईहरूले मोटा गाईहरूलाई खाइहाले। तर सातवटा दुब्ला गाईहरू जस्ताको त्यस्तै रहे, तिनीहरूले खाएको, नखाएको केही फरक परेन। तब म ब्यूँझें। फेरि मैले सपना देखें– सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटबाट पसाएका थिए। त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा अन्नका बालाहरू पसाए। र ती सेप्रा बालाहरूले भरिला बालाहरूलाई निलिहाले। यी सपनाहरू मैले जादूगरहरूलाई पनि सुनाएँ तर कसैले पनि अर्थ खोलिदिन सकेन।” योसेफले राजालाई भने, “दुवै सपनाको अर्थ एउटै हुन्छ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई जनाउनुभएको हो। सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ। पछिबाट निस्किआउने सातवटा दुब्ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्। मैले भनेअनुसार यो हुनेछ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ। सात वर्षसम्म सारा मिश्रदेशमा ठूलो सहकाल हुनेछ। त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्नेछन्। सहकालको समयलाई सम्पूर्णरूपले भुल्नेछन् किनभने त्यसपछिको अनिकाल साह्रै डरलाग्दो हुनेछ। हजुरको सपना दोहोरिएको अर्थ यो हो– परमेश्वरले निश्चय गरिसक्नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ। “हजुरले अब केही ज्ञान र बुद्धि भएका मानिसलाई चुनेर सारा देशमा नाइके खटाउनुहोस्। अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्नका पाँच हिस्सा बटुलेर राख्नुपर्नेछ। आउने सहकालका सात वर्षभरि अन्न बटुल्ने आज्ञा दिनुहोस् र ती बटुलेका अन्न सहर-सहरका ढुकुटीहरूमा जम्मा गर्न र तिनको रखवाली गर्ने अधिकार तिनीहरूलाई दिनुहोस्। यसरी बटुलेका अन्न मिश्रदेशमा पछिबाट आउने सात वर्ष अनिकालको लागि साँचिराखेको हुनेछ र यसरी मानिसहरू भोकले मर्नेछैनन्।” राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्वरको आत्मा हुनुहुन्छ।” त्यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ। तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ। तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” तब राजाले आफ्नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। उनलाई राजाले आफ्ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए। राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।” तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्केर उनले सारा देशमा यात्रा गरे। सात वर्ष सहकालमा जमिनबाट प्रशस्त उब्जनी भयो। ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्मा गरे। हरेक सहरमा त्यसको वरिपरिको खेतमा अन्न बटुलिन्थे। यति बिघ्न अन्न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए। अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्माइन्। उनले भने, “परमेश्वरले मेरो सारा दु:ख-कष्ट र बुबाको परिवारको सम्झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्शे राखे। उनले फेरि यसो पनि भने, परमेश्वरले मलाई कष्ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे। मिश्रमा सात वर्षको सहकाल सकियो। अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो तर मिश्रभरि अन्न थियो। मिश्रीहरू पनि भोकले छट्पटाए र राजालाई अन्न माग्न थाले। तिनले आफ्ना प्रजालाई योसेफकहाँ पठाए र उनले भनेअनुसार गर्नू भनी आज्ञा दिए। अनिकाल बढ्दै गयो र सारा देशमा फैलियो। यसकारण योसेफले सम्पूर्ण ढुकुटीहरू खोलेर मिश्रीहरूलाई अन्न बेच्न लाए। पृथ्वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्न किन्न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्चिएको थियो।
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:17-57
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू