YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:14-36

उत्‍पत्ति 41:14-36 सरल नेपाली

राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्‍तै झ्‍यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्‍ना लुगा लगाई राजाको सामुन्‍ने हाजिर भए। राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्‍छौ भनेर मैले सुनेको छु।” योसेफले उत्तर दिए, “हजुर! मसँग त्‍यस्‍तो ज्ञान त छैन तर परमेश्‍वरले सपनाको मिल्‍ने अर्थ खोलिदिनुहुन्‍छ।” राजाले भने, “सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ। त्‍यस बेला सातवटा मोटा र चिल्‍ला गाईहरू नदीबाट निस्‍किआए र घाँस खान लागे। त्‍यसपछि सातवटा दुब्‍ला हाड मात्र भएका गाईहरू निस्‍किआए। मैले त्‍यस्‍ता दुब्‍ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ। ती दुब्‍ला गाईहरूले मोटा गाईहरूलाई खाइहाले। तर सातवटा दुब्‍ला गाईहरू जस्‍ताको त्‍यस्‍तै रहे, तिनीहरूले खाएको, नखाएको केही फरक परेन। तब म ब्‍यूँझें। फेरि मैले सपना देखें– सातवटा अन्‍नका भरिला र पाकेका बालाहरू एउटा बोटबाट पसाएका थिए। त्‍यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा अन्‍नका बालाहरू पसाए। र ती सेप्रा बालाहरूले भरिला बालाहरूलाई निलिहाले। यी सपनाहरू मैले जादूगरहरूलाई पनि सुनाएँ तर कसैले पनि अर्थ खोलिदिन सकेन।” योसेफले राजालाई भने, “दुवै सपनाको अर्थ एउटै हुन्‍छ। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ, त्यो तपाईंलाई जनाउनुभएको हो। सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्‍नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ। पछिबाट निस्‍किआउने सातवटा दुब्‍ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्। मैले भनेअनुसार यो हुनेछ। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ। सात वर्षसम्‍म सारा मिश्रदेशमा ठूलो सहकाल हुनेछ। त्‍यसपछि सात वर्षसम्‍म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्‍नेछन्। सहकालको समयलाई सम्‍पूर्णरूपले भुल्‍नेछन् किनभने त्‍यसपछिको अनिकाल साह्रै डरलाग्‍दो हुनेछ। हजुरको सपना दोहोरिएको अर्थ यो हो– परमेश्‍वरले निश्‍चय गरिसक्‍नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ। “हजुरले अब केही ज्ञान र बुद्धि भएका मानिसलाई चुनेर सारा देशमा नाइके खटाउनुहोस्। अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्‍नका पाँच हिस्‍सा बटुलेर राख्‍नुपर्नेछ। आउने सहकालका सात वर्षभरि अन्‍न बटुल्‍ने आज्ञा दिनुहोस् र ती बटुलेका अन्‍न सहर-सहरका ढुकुटीहरूमा जम्‍मा गर्न र तिनको रखवाली गर्ने अधिकार तिनीहरूलाई दिनुहोस्। यसरी बटुलेका अन्‍न मिश्रदेशमा पछिबाट आउने सात वर्ष अनिकालको लागि साँचिराखेको हुनेछ र यसरी मानिसहरू भोकले मर्नेछैनन्।”

उत्‍पत्ति 41 पढ्नुहोस्