आफ्ना बुबाको देश कनानमा याकूब बसिरहे। तिनको परिवारको कथा यस्तो छ: योसेफ सत्र वर्षको हुँदाआफ्ना दाजुहरूसँग भेडा-बाख्राको हेरचाहा गर्थे। ती दाजुहरू आफ्ना बुबाका रखेल बिल्हा र जिल्पाका छोराहरू थिए। दाजुहरूले बिगार गरेका कुराको खबर उनले बुबाकहाँ पुर्याउँथे। याकूबले योसेफलाई अरू सबै छोराहरूभन्दा धेरै माया गर्थे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। उनले योसेफको लागि एउटा पूरा बाहुला भएको लामो लबेदा बनाइदिए। बुबाले तिनीहरूलाई भन्दा योसेफलाई बढी माया गर्छन् भनी थाहा पाएपछि तिनका दाजुहरूले तिनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्दैनथे। एक रात योसेफले सपना देखे र त्यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे। उनले भने, “मेरो सपना सुन। हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्यसका चारैपट्टि उभिएर त्यसलाई ढोग्दै थिए।” “तँ राजा भएर हामीहरूमाथि राज गर्छु भनी सोच्दछस्?” तिनका दाजुहरूले सोधे। यसरी उनको सपना र उनले तिनीहरूबारे भनेका कुराहरूले गर्दा तिनीहरूले उनलाई अझ बढी घृणा गर्न लागे। योसेफले अर्को एउटा सपना देखे र दाजुहरूलाई भने, “मैले अर्को एउटा सपना देखें। सपनामा घाम, जून र एघार वटा ताराहरूले मलाई ढोगेको देखें।” उनले त्यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्यो कस्तो खालको सपना हो? के तँ यो सोच्दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्नेछौं?” योसेफका दाजुहरूले उनलाई डाहा गर्न थाले तर बुबाचाहिँले यी सबै कुरा मनमै राखे। एक दिन दाजुहरू बुबाका भेडा-बाख्राका बथान चराउन शकेममा गएका बेलामा याकूबले योसेफलाई भने, “म चाहन्छु कि तँ शकेममा तेरा दाजुहरूले भेडा चराएको ठाउँमा जा।” योसेफले उत्तर दिए, “म तयार छु।” बुबाले भने, “गएर तेरा दाजुहरू कुशल छन् कि छैनन्, भेडा-बाख्राहरू ठीक छन् कि छैनन्, हेरेर आइज र मलाई भन्।” यसरी बुबाले उनलाई हेब्रोनको बेसीबाट पठाए। योसेफ शकेममा पुगे र बनमा डुल्दै गर्दा एउटा मानिसले भेटेर उनलाई सोध्यो, “तिमी के खोज्दै छौ?” “मेरा आफ्ना दाजुहरूलाई खोज्दै छु, तिनीहरूले भेडा चराउँछन्,” उनले उत्तर दिए, “तिनीहरू कहाँ छन्, के तपाईंले मलाई भन्न सक्नुहुन्छ?” त्यस मानिसले भन्यो, “तिनीहरू यहाँबाट अघि नै गइसके। तिनीहरूले हामी दोतानतिर जाऔं भनेको कुरा मैले सुनें।” योसेफ दाजुहरूलाई खोज्दै गए र तिनीहरूलाई दोतानमा भेटे। तिनीहरूले उनलाई टाढैबाट देखे। उनी तिनीहरू भएको ठाउँमा पुग्नुअघि नै तिनीहरूले उनलाई छल गरेर मार्ने निश्चय गरे। तिनीहरूले आपसमा भने, “त्यो सपना देख्ने आउँदै छ। जाऔं, त्यसलाई मारेर त्यसको लाश एउटा सुख्खा इनारमा फालिदिऔं। जङ्गली जनावरले त्यसलाई मारेछ भनी हामी भन्न सक्छौं र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।” रूबेनले तिनीहरूका कुरा सुनेर योसेफलाई बचाउने चेष्टा गरे। “त्यसलाई नमारिहालौं,” उनले भने, “त्यसलाई यहाँ जङ्गलमा यो इनारमा फालिदिऔं तर चोट नलगाऔं।” योसेफलाई बचाएर बुबाकहाँ पठाइदिने उपाय गरेर उनले त्यस्तो भनेका थिए। योसेफ दाजुहरूकहाँ आइपुग्दा तिनीहरूले उसका बाहुला भएका लामा लबेदा खोसेर च्याते। त्यसपछि उनलाई लगेर तिनीहरूले एउटा सुख्खा इनारमा फालिदिए। त्यसपछि तिनीहरू खान बसे। अचानक तिनीहरूले एक हुल इश्माएलीहरूलाई गिलादबाट मिश्रमा गइरहेका देखे। तिनीहरूले आफ्ना ऊँटहरूमा मर-मसला र सुगन्धित धूप इत्यादिका भारी लादेका थिए। यहूदाले दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको हत्या लुकाउँदा हामीलाई के फाइदा छ र? बरु त्यसलाई यी इश्माएलीहरूका हातमा बेचिदिऔं। त्यसो भए त्यसलाई चोट पनि लाउनुपर्दैन। आखिरी त्यो हाम्रो भाइ, हाम्रो रगत र मासु हो।” दाजुभाइहरूले उनका कुरा माने। केही मिद्यानी व्यापारीहरू त्यहाँ पुग्दा दाजुहरूले योसेफलाई त्यस इनारबाट तानी निकाले र बीसवटा चाँदीका टुक्रा लिएर इश्माएलीहरूका हातमा बेचिदिए। इश्माएलीहरूले उनलाई मिश्रमा लिएर गए।
उत्पत्ति 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:1-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू