परमप्रभुले इसहाकलाई दर्शन दिएर भन्नुभएको थियो, “मिश्रमा नजा। यही देशमा बस्। म जहाँ तँलाई बस् भन्छु, त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। आकाशमा जति तारा छन्, त्यति नै म तँलाई सन्तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्तानलाई दिएको जस्तो आशिष् अरू सबै जातिहरूले मसँग माग्नेछन्। अब्राहामले मेरो वचन मान्यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्यो। यसकारण म तँलाई आशिष् दिनेछु।” यसरी इसहाक गरारमा बस्न थाले। त्यहाँका मानिसहरूले उनकी स्वास्नीको बारेमा सोध्दा उनले यो मेरी बहिनी हो भने। उनले रिबेकालाई आफ्नी स्वास्नी हो भनेनन् किनभने त्यहाँका मानिसहरूले रिबेकालाई हात पार्न मलाई मार्छन् भनी उनी डराए। रिबेका अति सुन्दरी थिइन्, इसहाक त्यहाँ बसेको केही समय भएपछि अबीमेलेक राजाले एक दिन झ्यालबाट हेर्दा इसहाकले रिबेकालाई माया गरिरहेका देखे। अबीमेलेकले इसहाकलाई बोलाउन पठाए र भने, “के त्यो तिम्री स्वास्नी हो, किन ‘यो मेरी बहिनी हो’ भन्यौ?” उनले जवाफ दिए, “मैले आफ्नी स्वास्नी हो भनेमा मलाई मार्छन् होला भनी मैले सोचेको थिएँ।” “तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्वास्नीसँग सुत्न सक्दथ्यो। यस्तो अपराध हामीबाट भएको भए तिमी जिम्मेवार हुनेथियौ।” अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्वास्नीसित खराब व्यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए। इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो। उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए। उनीसँग भेडाका बथान, गाई-गोरु र धेरै चाकरहरू थिए, यसकारण पलिश्तीहरूले उनीसित डाह गर्न लागे। अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्तीहरूले पुरिदिए। तब अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडेर जाऊ। तिमी हामीभन्दा सामर्थी छौ।” तब इसहाक त्यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्यहाँ केही समयसम्म बास गरे। अब्राहामको समयमा खनेका र उनको मृत्युपछि पलिश्तीहरूले बन्द गरिदिएका इनारहरू फेरि इसहाकले खन्न लाए। उनले ती इनारहरूका नाम आफ्ना बुबाले पहिला राखेकै नामहरू राखे। इसहाकका चाकरहरूले त्यहाँ बेसीमा एउटा इनार खने र पानी भेट्टाए। गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरे र यसो भने, “यो पानी हाम्रो हो।” यसैले इसहाकले त्यस इनारको नाम एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए। इसहाकका नोकरहरूले अर्को एउटा इनार खने र त्यसबारे पनि झगडा भयो। उनले त्यसको नाम सित्ना राखे। उनी त्यहाँबाट सरेर गए र अर्को एउटा इनार खने। त्यसबारे भने झगडा भएन र उनले त्यसको नाम ‘रहोबोत’ (खुला) राखे। उनले भने, “अब परमप्रभुले हामीलाई यस ठाउँमा बस्न छुट दिनुभएको छ र यहाँ हाम्रो फलिफाप हुनेछ।” त्यहाँबाट सरेर इसहाक बेर्शेबा गए। त्यस रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो र भन्नुभयो, “म तेरो बुबा अब्राहामको परमेश्वर हुँ। नडरा, म तँसँग छु। मेरो दास अब्राहामसित मैले गरेका प्रतिज्ञाअनुसार म तँलाई आशिष् दिनेछु र धेरै सन्तानहरू दिनेछु।” त्यहाँ इसहाकले एउटा वेदी बनाए र परमप्रभुको भक्ति गरे। अनि त्यहाँ उनले आफ्ना पाल हाले र उनका नोकरहरूले अर्को एउटा इनार खने।
उत्पत्ति 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 26:2-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू