त्यो देशमा अघि अब्राहामको समयमा परेको अनिकालबाहेक अर्को एउटा अनिकाल फेरि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरारमा गए। परमप्रभुले इसहाकलाई दर्शन दिएर भन्नुभएको थियो, “मिश्रमा नजा। यही देशमा बस्। म जहाँ तँलाई बस् भन्छु, त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। आकाशमा जति तारा छन्, त्यति नै म तँलाई सन्तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्तानलाई दिएको जस्तो आशिष् अरू सबै जातिहरूले मसँग माग्नेछन्। अब्राहामले मेरो वचन मान्यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्यो। यसकारण म तँलाई आशिष् दिनेछु।” यसरी इसहाक गरारमा बस्न थाले। त्यहाँका मानिसहरूले उनकी स्वास्नीको बारेमा सोध्दा उनले यो मेरी बहिनी हो भने। उनले रिबेकालाई आफ्नी स्वास्नी हो भनेनन् किनभने त्यहाँका मानिसहरूले रिबेकालाई हात पार्न मलाई मार्छन् भनी उनी डराए। रिबेका अति सुन्दरी थिइन्, इसहाक त्यहाँ बसेको केही समय भएपछि अबीमेलेक राजाले एक दिन झ्यालबाट हेर्दा इसहाकले रिबेकालाई माया गरिरहेका देखे। अबीमेलेकले इसहाकलाई बोलाउन पठाए र भने, “के त्यो तिम्री स्वास्नी हो, किन ‘यो मेरी बहिनी हो’ भन्यौ?” उनले जवाफ दिए, “मैले आफ्नी स्वास्नी हो भनेमा मलाई मार्छन् होला भनी मैले सोचेको थिएँ।” “तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्वास्नीसँग सुत्न सक्दथ्यो। यस्तो अपराध हामीबाट भएको भए तिमी जिम्मेवार हुनेथियौ।” अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्वास्नीसित खराब व्यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए। इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो। उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए। उनीसँग भेडाका बथान, गाई-गोरु र धेरै चाकरहरू थिए, यसकारण पलिश्तीहरूले उनीसित डाह गर्न लागे। अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्तीहरूले पुरिदिए। तब अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडेर जाऊ। तिमी हामीभन्दा सामर्थी छौ।”
उत्पत्ति 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 26:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू