YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 21:8-21

उत्‍पत्ति 21:8-21 सरल नेपाली

बालक बढ्दैगयो र त्‍यसले आमाको दूध खान छोडेको दिन अब्राहामले एउटा ठूलो भोज लगाए। एक दिन मिश्री हागारबाट जन्‍मेका अब्राहामको छोरो इश्‍माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो। तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्‍यसको छोरालाई कतै पठाइदिनुहोस्‌, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्‍पत्तिको कुनै हिस्‍सा त्‍यसका छोराले पाउनुहुन्‍न।” यस कुराले अब्राहामलाई मनमा औधी कष्‍ट भयो किनभने इश्‍माएल पनि उनको छोरो थियो। तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी कमारी हागार र त्‍यसका छोराको लागि चिन्‍ता नगर्‌। साराले जसो भन्‍छे, त्‍यसै गर्‌ किनभने मैले तँलाई प्रतिज्ञा गरेको तेरो सन्‍तान इसहाकबाट हुनेछ। कमारीका छोरालाई पनि धेरै छोरानाति दिनेछु र तिनीहरूबाट पनि एउटा जाति बन्‍नेछ। त्‍यो पनि तेरै छोरो हो।” भोलिपल्‍ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्‍यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्‍यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्‍न लागी। पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर आफू सय मिटरजति टाढा गएर बसी। त्‍यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्‍दिनँ।” त्‍यो त्‍यहाँ बसेर रुन लागी। परमेश्‍वरले बालक रोएको सुन्‍नुभयो र स्‍वर्गबाट परमेश्‍वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्‍यो? नडरा। परमेश्‍वरले बालक रोएको सुन्‍नुभएको छ। उठ्, गएर त्‍यसलाई उठा र फकाएर शान्‍त पार्‌। त्‍यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।” तब परमेश्‍वरले त्‍यसका आँखा खोलिदिनुभयो र त्‍यसले एउटा इनार देखी। त्‍यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। बालक बढ्दैगयो अनि परमेश्‍वर त्‍योसित हुनुहुन्‍थ्‍यो। त्‍यो पारानको जङ्गलमा बस्‍न लाग्‍यो र एउटा सिपालु शिकारी भयो। त्‍यसकी आमाले एउटी मिश्री स्‍वास्‍नी त्‍यसलाई ल्‍याइदिई।

उत्‍पत्ति 21 पढ्नुहोस्