एज्रा 8
8
कैदबाट फर्केका मानिसहरू
1बेबिलोनियामा कैदी भई बसेका र अर्तासास्त महाराजा छँदा एज्रासँग यरूशलेम फर्किआउने गोत्र— गोत्रका प्रधानहरूको नामावली यस्तो छ:
2-14पीनहासका गोत्रबाट: गेर्शोम
ईतामारका गोत्रबाट: दानिएल
दाऊदका गोत्रबाट: शकन्याहका छोरा हत्तूश
परोशका गोत्रबाट: जकरिया र तिनीसँग आएका त्यस गोत्रका १५० जना पुरुष (उनीहरूको पुर्ख्यौलीसम्बन्धी कागज-पत्र थियो)
पहत-मोआबका गोत्रबाट: जरयाहका छोरा एल्यहोएनै र उनीसित २०० जना पुरुष
जत्तूका गोत्रबाट: यहासेलका छोरा शकन्याह र उनीसित ३०० जना पुरुष
आदीनका गोत्रबाट: जोनाथनका छोरा एबेद र उनीसित ५० जना पुरुष
एलामका गोत्रबाट: अतल्याहका छोरा यशयाह र उनीसित ७० जना पुरुष
शपत्याहका गोत्रबाट: मिखाएलका छोरा जबदियाह र उनीसित ८० जना पुरुष
योआबका गोत्रबाट: यहीएलका छोरा ओबदिया र उनीसित २१८ जना पुरुष
बानीका गोत्रबाट: योसिपियाका छोरा शलोमीत र उनीसित १६० जना पुरुष
बेबैका गोत्रबाट: बेबैका छोरा जकरिया र उनीसित २८ जना पुरुष
अज्गादका गोत्रबाट: हक्कातानका छोरा योहानान उनीसित ११० जना पुरुष
अदोनीकामका गोत्रबाट: एलीपेलेत, यीएल र शमायाह र तिनीहरूसित ६० जना पुरुष (तिनीहरू केही समयपछि फर्किआएका थिए।)
बिग्वैका गोत्रबाट: उत्तै र जक्कूर र तिनीहरूसित ७० जना पुरुष।
एज्राले मन्दिरको लागि लेवीहरू खोज्छन्।
15मैले सम्पूर्ण दललाई अहावा सहरतिर बग्ने नहरको छेउमा भेला गरें र हामी त्यहाँ तीन दिनसम्म डेरा गरेर बस्यौं। मैले देखें कि दलमा पूजाहारी त रहेछन् तर लेवीहरूचाहिँ थिएनन्। 16मैले नौ जना अगुवाहरू: एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्लाम र दुई जना गुरुहरू योयारीब र एल्नातानलाई बोलाउन पठाएँ। 17मैले तिनीहरूलाई कासिपिया जन-समुदायका मुखिया इद्दोकहाँ उनी र मन्दिरमा काम गर्ने उनका सहकर्मीहरूलाई मन्दिरमा परमेश्वरको सेवा गर्न मानिसहरू पठाइदेऊन् भनी खबर दिनलाई पठाएँ। 18परमेश्वरको अनुग्रहले तिनीहरूले हामीहरूकहाँ महली गोत्रका एक जना लेवी शरेबियाह अति योग्य मानिस पठाइदिए र उनीसँग उनका छोराहरू र कुटुम्बहरू गरी अठार जना पुरुषहरू आए। 19तिनीहरूले मरारी गोत्रबाट हशब्याह र यशयाहलाई पनि तिनका कुटुम्बबाट बीस जना पुरुषसहित पठाए। 20तीबाहेक दुई सय बीस जना मन्दिरका काम गर्ने थिए, जसका पिता-पुर्खालाई दाऊद राजा र उनका भारदारहरूले लेवीहरूलाई सघाउन नाम तोकिदिएका थिए। तिनीहरू सबैका नाम सूचीमा लेखिएका थिए।
एज्राले मानिसहरूलाई उपवास र प्रार्थना गर्न डोर्याउँछन्
21त्यहाँ अहावाको नहरछेउ मैले सबैलाई उपवास बस्न र आफैंलाई हाम्रा परमेश्वरको अघि नम्र बनाई हाम्रो यात्रामा उहाँको अगुवाइको निम्ति र हाम्रा छोरा-छोरी र धन-सम्पत्तिको रक्षाको निम्ति बिन्ती गर्न आज्ञा दिएँ। 22यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्ति महाराजालाई घोडचढी सैनिक माग्न मलाई लाज लाग्यो किनभने मैले उनलाई हाम्रा परमेश्वरले उहाँमाथि भरोसा राख्ने सबैलाई आशिष् दिनुहुन्छ र उहाँलाई त्याग्नेहरूसित असन्तुष्ट भई दण्ड दिनुहुन्छ भनेको थिएँ। 23यसैकारण हामीहरू उपवास बस्यौं र हाम्रो रक्षाको लागि परमेश्वरलाई प्रार्थना गर्यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो।
मन्दिरको निम्ति भेटी
24मुख्य पूजाहारीहरूबाट मैले शरेबियाह, हशब्याह र अरू दश जनालाई चुनें। 25तब मैले महाराजा, उनका सल्लाहकार र भारदारहरू र इस्राएलका मानिसहरूले मन्दिरमा चलाउन भनी दिएका सुन, चाँदी र भाँडा-कुँडा तौलेर ती पूजाहारीहरूलाई दिएँ। 26-27मैले तिनीहरूलाई यी कुराहरू दिएँ:
चाँदी– २२,००० किलोग्राम
१०० वटा चाँदीका भाँडाहरू ७० किलोग्राम
सुन ३,४०० किलोग्राम
२० वटा सुनका बटुकाहरू ९ किलोग्राम
२ वटा सुन्दर कासाँका बटुकाहरू (सुनको दाम बराबर थियो)
28मैले तिनीहरूलाई भनें, “तिमीहरू परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको निम्ति पवित्र छौ, त्यसरी नै उहाँलाई स्वेच्छाले भेटीका रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू पनि पवित्र छन्। 29तिमीहरू मन्दिरमा नपुगेसम्म होशियारीसाथ तिनीहरूको रक्षा गर। त्यहाँ पुगेर पूजाहारीको कोठामा तिनीहरूको तौल लेओ र ती पूजाहारी र लेवीहरूका अगुवा र यरूशलेममा बास गर्ने इस्राएलीहरूका अगुवाहरूलाई देओ।” 30यसरी ती पूजाहारी र लेवीहरूले ती सुन, चाँदी र भाँडा-कुँडाहरू यरूशलेमका मन्दिरमा पुर्याउन आफ्ना जिम्मामा लिए।
यरूशलेम फर्केका
31“पहिलो महिनाको बाह्रौँ दिन हामीले यरूशलेम जान अहावाको नहर छोड्यौं। हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र हामीलाई यात्रामा शत्रुहरूका आक्रमण र बाटो ढुकाइबाट बचाउनुभयो। 32यरूशलेम पुगेर हामीले तीन दिन बितायौँ। 33चौथो दिन हामी मन्दिर गयौं, चाँदी, सुन र भाँडाहरू तौलियौं र उरियाहको छोरो मरेमोत पूजाहारीका हातमा जिम्मा लाइदियौं। उनीसित पीनहासको छोरो एलाजार र दुई लेवीहरू येशूअको छोरो योजाबाद र बिन्नूईको छोरो नोअदिया थिए। 34सबै कुरा गन्ती गरी तौलियो र साथसाथै सम्पूर्ण कागज-पत्र तयार गरियो।
35“त्यसपछि कैदबाट फर्किआएका सबैले इस्राएलका परमेश्वरलाई होमबलि चढाउन आ-आफ्ना बलिदानहरू ल्याए। तिनीहरूले सारा इस्राएलको निम्ति बाह्र वटा साँढे, छयान्नब्बे ठूला भेडा र सतहत्तर वटा थुमा बलि गरे। तिनीहरूले बाह्र वटा बोका पनि आफैंलाई पापबाट चोख्याउँदै होमबलि चढाए। यी सबै पशुहरू परमप्रभुलाई होमबलि चढाई जलाइ। 36महाराजाले दिएका कागज-पत्र पनि लिएर तिनीहरूले पश्चिम यूफ्रेटिस प्रान्तका बडा-हाकिम र भारदारहरूलाई दिए र ती अधिकृतहरूले त्यसपछि इस्राएलीहरूलाई र मन्दिरको पूजा कार्यमा सहायता दिए।
अहिले सेलेक्ट गरिएको:
एज्रा 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.