इजकिएल 8
8
इजकिएललाई परमेश्वरको दोस्रो दर्शन (८:१—१०:२२)
यरूशलेममा मूर्तिपूजा
1हामी देश निकाला भई विदेशमा बसोबास गरेको छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा यहूदाबाट आएका कैदीहरूका अगुवाहरू मेरो घरमा मसित बसिरहेका थिए। अचानक सार्वभौम परमप्रभुको हात ममाथि पर्यो। 2#इजकिएल 1:27मैले मास्तिर हेरें र आगोजस्तो मानिसको आकारको दर्शन देखें। कम्मरदेखि तल त्यसको शरीर आगोजस्तै देखिन्थ्यो र कम्मरदेखि माथिचाहिँ टल्काएको काँसझैँ चम्कन्थ्यो। 3त्यसले हातजस्तो आकार पसारेर मेरो केश समात्यो। त्यसपछि दर्शनमा परमेश्वरको आत्माले मलाई हावामा अग्लो गरी उचाल्नुभयो र यरूशलेममा पुर्याउनुभयो। आत्माले मलाई मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल-ढोकानिर पुर्याउनुभयो, जहाँ एउटा मूर्ति थियो। त्यस मूर्तिले परमेश्वरको क्रोध बढाउँथ्यो।
4 #
इजकिएल 1:28
मैले त्यहाँ इस्राएलको परमेश्वरको महिमा देखें। त्यो महिमा अघि मैले कबार नदीको छेउमा छँदा देखेको महिमाजस्तै थियो। 5परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, उत्तर दिशातिर हेर्।” मैले त्यतैपट्टि हेरें। त्यहाँ वेदीको उत्तरमा भएको प्रवेश ढोकानिर त्यो मूर्ति देखें, जुनले परमेश्वरको क्रोध बढाउँथ्यो।
6परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के भइरहेछ, त्यो तँ देख्दै छस्? यहाँ इस्राएलका मानिसहरूले गरेका घिनलाग्दा कामहरू र मेरो पवित्र बासस्थानबाट मलाई टाढा-टाढा खेदेको हेर्। तैँले योभन्दा पनि अझ घिनलाग्दा कुराहरू देख्नेछस्।”
7उहाँले मलाई बाहिरी चोकको प्रवेश-द्वारमा लैजानुभयो र भित्तामा एउटा प्वाल देखाउनुभयो। 8उहाँले भन्नुभयो, “ए मरणशील मानिस, त्यो भित्ता फोर्।” मैले त्यसै गरें र एउटा ढोका भेटें। 9फेरि उहाँले मलाई भन्नुभयो, “भित्र पस् र तिनीहरूले त्यहाँ गर्दैगरेका घिनलाग्दा कामहरू हेर्।” 10अनि म भित्र पसें र हेरें। भित्ताहरूमा चारैतिर साँप र अरू अशुद्ध पशुहरू र इस्राएलीहरूले पूजा गर्नेगरेका मूर्तिहरूका चित्र कोरिएका थिए। 11शापानका छोरा याजन्याहसमेत जम्मा सत्तरी जना इस्राएली अगुवाहरू ती चित्रहरूको सामुन्ने उभिरहेका थिए। प्रत्येकले एक-एक वटा धूपदान हातमा लिएका थिए र धूपदानबाट धूपको धुवाँ माथितिर उठिरहेको थियो। 12परमेश्वरले मलाई सोध्नुभयो, “ए मरणशील मानिस, मूर्तिहरूले भरिएको पूजास्थल अघि इस्राएली अगुवाहरूले गुप्तमा के गरिरहेका छन्, त्यो देख्दै छस्? तिनीहरूको यस्तो भनाइ छ, ‘परमप्रभुले हामीहरूलाई देख्नुहुन्न, उहाँले यस देशलाई त्याग्नुभएको छ’।”
13त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले त्योभन्दा झन् घिनलाग्दा काम गरेका तैँले देख्नेछस्।” 14अनि उहाँले मलाई मन्दिरको उत्तरपट्टिको मूल-ढोकानिर लैजानुभयो र तम्मूज देवताको मृत्यु भएकोमा आइमाईहरू विलाप गरिरहेका देखाउनुभयो।
15उहाँले मलाई सोध्नुभयो, “ए मरणशील मानिस, के त्यो देखिस्? त्योभन्दा बढ्ता घिनलाग्दा कुराहरू तैँले देख्नेछस्।” 16त्यसपछि उहाँले मलाई मन्दिरको भित्री-चोकमा लैजानुभयो। त्यहाँ वेदी र दलानबीच पवित्र बासस्थानको प्रवेशद्वारनिर पच्चीस जना जति मानिसहरू थिए। तिनीहरूले पवित्र बासस्थानतिर पिठ फर्काएर पूर्वतिर मुख गरी तलसम्म शिर झुकाउँदै उदाउन लागेको सूर्यलाई दण्डवत् गरिरहेका थिए।
17परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, तैँले त्यो देखिस् त? यी यहूदाका मानिसहरू तैँले देखेका घिनलाग्दा कुराहरू गरेर मात्र सन्तोक मान्दैनन्; तर तिनीहरूले देशभरि हिंसा फैलाउनुपर्छ र अन्यजातिहरूले जस्तै छाँटेको डाँठ नाकमा लगाई मेरो अझ अपमान गर्नुपर्छ। 18तिनीहरूले मेरो क्रोधको पूरा प्रभाव थाहा गर्नेछन्। म तिनीहरूलाई बाँकी राख्नेछैनँ, केही दया देखाउनेछैनँ। तिनीहरूले सकेसम्म उच्च सोरले मलाई प्रार्थना चढाउनेछन् तर म कान थाप्नेछैनँ।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.