इजकिएल 46
46
शासक र चाडपर्वहरू
1सार्वभौम परमप्रभुले भन्नुहुन्छ, “भित्री चोकमा पस्ने पूर्वको मूल-ढोका छ दिनसम्म बन्द राखिनेछ तर विश्राम दिन र औँसीको चाडको दिन भने त्यो खोलिनेछ। 2शासकले ल्याएको होमबलि र मेलबलि पूजाहारीहरूले चढाउँदा शासकचाहिँ बाहिरी चोकबाट मूल-ढोकाको छेउको ठूलो कोठामा गई ढोकाका खामाछेउ उभिनेछ। त्यहाँ ढोकानिर शासकले आफ्नो भक्ति चढाएर फेरि बाहिर निस्कनेछ। ढोका साँझसम्म बन्द गरिनेछैन। 3प्रत्येक विश्राम दिन र प्रत्येक औँसीको चाडको दिन सबै मानिसहरू पनि ढोकाअघि शिर निहुराई भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्नेछन्।
4“विश्रामको दिन परमप्रभुकहाँ सिंगै होमबलि चढाउन शासकले एउटा साँढ-भेडा र छ वटा थुमाहरू ल्याउनेछ, ती सबै पशुहरू निष्खोट हुनुपर्छ। 5प्रत्येक साँढ-भेडासित शासकले साढे सत्र किलो अन्न र प्रत्येक थुमासित आफ्नो इच्छाअनुसार भेटी ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्न-बलिसित उसले तीन लिटर जैतुनको तेल ल्याउनुपर्नेछ। 6औंसीको चाडमा शासकले एउटा साँढे, छ वटा थुमा र एउटा साँढ-भेडा बलि गर्नुपर्नेछ अनि ती सबै पशुहरू निष्खोट हुनुपर्नेछ। 7हरेक साँढे र साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी अनि हरेक थुमासित आफ्नो इच्छाअनुसार शासकले भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल पनि ल्याउनुपर्नेछ। 8शासक मूल-ढोकाको ठूलो कोठाबाट फर्कंदा अघि जुन बाटोबाट आएको थियो, त्यही बाटोबाट बाहिर जानुपर्नेछ।
9“चाड-पर्वको दिनमा जब मानिसहरू परमप्रभुलाई पुज्न आउनेछन्, तब उत्तरको मूल-ढोकाबाट भित्र आउनेहरू पूजा सकेपछि दक्षिणको मूल-ढोकाबाट बाहिर निस्कनेछन् अनि दक्षिणको मूल-ढोकाबाट भित्र आउनेहरू उत्तरको मूल-ढोकाबाट निस्किजानेछन्। कुनै पनि मानिस जुन ढोकाबाट भित्र आयो, त्यही ढोकाबाट बाहिर जान पाउनेछैन। तर सिधै गई सामुन्नेको मूलढोकाबाट बाहिर जानुपर्नेछ। 10मानिसहरूसित शासक पनि आउनुपर्नेछ र तिनीहरूसितै निस्किजानुपर्नेछ। 11भोजका दिनहरूमा र चाड-पर्वको दिनहरूमा प्रत्येक साँढे वा साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी र हरेक थुमासित आफ्नो इच्छाअनुसार भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल चढाउनुपर्नेछ।
12“जब शासकले आफ्नो इच्छाले परमप्रभुलाई होमबलि वा मेलबलि चढाउन चाहन्छ, तब उसको निम्ति भित्री चोकमा पुर्याउने पूर्वको मूल-ढोका खोलिदिनू। उसले आफ्नो बलि विश्रामको दिनमा चढाएझैँ चढाउनेछ। निस्केपछि त्यो मूल-ढोका फेरि बन्द गरिदिनू।”
हरेक दिन चढाउनुपर्ने बलि
13परमप्रभु भन्नुहुन्छ, “हरेक बिहान एउटा एक-वर्षे निष्खोट थुमा परमप्रभुलाई सिङ्गै जलाएर होमबलि चढाउनू। यो बलि दिनहुँ चढाउनुपर्नेछ। 14साथै हरेक बिहान दुई किलोग्राम पिठो र त्योसित मिसाएर एक लिटर जैतुनको तेल पनि चढाउनुपर्नेछ। परमप्रभुलाई चढाइने यस अन्नबलिको विधि सदा मानिनुपर्नेछ। 15थुमा, पिठो र जैतुनको तेल हरेक बिहान परमप्रभुलाई सधैँ चढाउनुपर्नेछ।”
शासक र देश
16सार्वभौम परमप्रभु यस्तो आज्ञा गर्नुहुन्छ, “यदि राज्य गर्दैगरेका शासकले आफ्नो हिस्साको कुनै जमिन आफ्ना छोराहरूलाई दियो भने परिवारको सम्पत्तिको एउटा अंशको रूपमा त्यो त्यसका छोराहरू हुनेछ। 17#लेवी 25:10तर शासकले आफ्नो कुनै जमिन आफ्नो चाकरी गर्ने दासलाई दिन्छ भने त्यो जमिन दास मुक्त हुने वर्षपछि फेरि शासककै हुनेछ। त्यो शासकको जमिन हो र सधैँ शासक र उसका छोराहरूको रहनेछ।
18राज्य गर्दैगरेका शासकले आफ्ना प्रजाको कुनै जग्गाजमिन लिन पाउनेछैन। उसले आफ्ना छोराहरूलाई दिएको जमिन उसको आफ्नै हिस्साबाट मात्र दिनेछ। मेरा प्रजाबाट जमिन लिएर उसले तिनीहरूमाथि थिचोमिचो गर्नेछैन।”
मन्दिरका भान्सा-कोठाहरू
19तब ती मानिसले मलाई भित्री चोकको दक्षिणपट्टिको मूल-ढोका छेउमा भएका उत्तर दिशातिर फर्केका कोठाहरूको प्रवेशद्वारमा लगे। ती पूजाहारीहरूको निम्ति राखिएका पवित्र कोठाहरू हुन्। ती कोठाहरूका पश्चिममा तिनले एउटा ठाउँ देखाए 20र भने, “पूजाहारीहरूले पापबलि वा दोषबलि चढाएको पशुको मासु उमाल्ने र अन्नबलि चढाएको पिठो पकाउने स्थान यही हो। त्यसरी कुनै पवित्र थोक पनि बाहिरी चोकमा नलगिओस् नत्र मानिसहरूको हानि हुनेछ।”
21-22त्यसपछि तिनले मलाई बाहिरी चोकमा लगे र त्यसका चार कुनामा भएका स-साना चोकहरू देखाए। ती चोकहरू बीस-बीस मिटर लामा र पन्ध्र-पन्ध्र मिटर चौडा थिए। 23हरेक चोकको चारैतिर ढुङ्गाको पर्खाल लाएको थियो र पर्खालसित जोडेर ठाउँ-ठाउँमा चुलाहरू बनाइएका थिए। 24ती मानिसले मलाई भने, “मानिसहरूले चढाएका बलिदानहरू मन्दिरका सेवकहरूले उमाल्ने भान्सा-कोठाहरू यी नै हुन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 46: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.