YouVersion लोगो
खोज आइकन

इजकिएल 17

17
दाखको बोट र चिलको उखान
1परमप्रभु मसित बोल्‍नुभयो, 2-3“ए मरणशील मानिस, म सार्वभौम परमप्रभुले इस्राएलीहरूलाई के भन्‍दै छु त्‍यो बुझाउन तिनीहरूलाई एउटा उखान सुना, ‘सुन्‍दर प्‍वाँख भएको र फैलाउँदा ठूल्‍ठूला पखेटा भएको एउटा असाध्‍य ठूलो चिल थियो। त्‍यो उडेर लेबनानका पर्वतहरूमा गयो र एउटा देवदारुको रूखको टुप्‍पो चुँडायो। 4अनि त्‍यो लिएर व्‍यापारीहरूका एउटा देशमा गयो र त्‍यहाँ एउटा सहरमा राख्‍यो। 5त्‍यसपछि त्‍यसले एउटा कलिलो बिरुवा इस्राएलबाट लग्‍यो र एउटा मलिलो जमिनमा रोप्‍यो, जहाँ त्‍यो उम्रनलाई प्रशस्‍त पानी पाइन्‍थ्‍यो। 6त्‍यो बोट उम्र्यो र एउटा होचो फैलिएर गएको दाखलता भयो। त्‍यसका हाँगा चिल भएको ठाउँतिर बढेर गयो र जरा गहिरिएर जमिनमा गाडियो। दाखको लहरा हाँगा-बिंगा र पातहरूले भरिए।
7“त्‍यहाँ एउटा ठूल्‍ठूला पखेटा र बाक्‍ला प्‍वाँख भएको अर्को असाध्‍य ठूलो चिल थियो। दाखका बोटको जरा र पातहरू त्‍यस चिलतिर फैलिएर गए। त्‍यस चिलले बगैंचामा भएको पानीभन्दा अरू ज्‍यादा पानी दिन सक्‍छ कि भनेर दाखलताले जरा र पात त्‍योतिर बढाएको थियो। 8तर त्‍यो बोट त अघि नै प्रशस्‍त पानी भएको मलिलो जमिनमा रोपिएको थियो र त्‍यसले पातहरू फैलाएर फल दिन सक्‍नेथियो। त्‍यसरी त्‍यो एउटा उत्तम दाखलता बन्‍न सक्‍थ्‍यो।
9“यसकारण म सार्वभौम परमप्रभु यो प्रश्‍न गर्दछु: के यो दाखको बोट मौलाएर बढ्‍नेछ? के त्‍यो पहिलो चिलले त्‍यस बोटलाई जरैसमेत उखेली, फल टिपेर हाँगाहरू भाँची ओइलिनलाई छोडिराख्‍दैन र? त्‍यसलाई उखेल्‍न कुनै ठूलो बल वा शक्तिशाली जातिहरू चाहिँ दैन। 10हो, त्‍यो रोपिएको छ तर के त्‍यो मौलाएर बढ्ला? के पूर्वीय बतासले त्‍यसलाई हानेपछि त्‍यो नओइलिएला? के उम्रेकै ठाउँमा त्‍यो ओइलिएर नजाला?”
उखानको अर्थ
11परमप्रभुले मलाई भन्‍नुभयो, 12#२ राजा 24:15-20; २ इतिहास 36:10-13“यी बागीहरूलाई सोध्, ‘के तिनीहरू यस उखानको अर्थ जान्‍दछन्?’ तिनीहरूलाई भन् कि बेबिलोनका राजा यरूशलेममा आयो र त्‍यहाँका राजा र भारदारहरूलाई कैद गरी आफूसित बेबिलोनमा लिएर गयो। 13-14उसले राजाको वंशबाट एउटा व्‍यक्ति लिएर सन्‍धि गर्‍यो र आफूप्रति बफादार रहने शपथ खुवायो। इस्राएल जातिले विद्रोह गर्न नसकोस् र सन्‍धि ठीकसित कायम रहोस् भनी उसले ठूल्‍ठूला मानिसहरूलाई पनि बन्‍दी बनाएर लग्‍यो। 15तर यहूदाको राजाले विद्रोह गर्‍यो अनि घोडाहरू र ठूलो सेना लिइआउन मिश्रमा दूत पठायो। के त्‍यो यहूदाको राजा सफल होला? के त्‍यो बाँच्‍न सक्‍ला? त्‍यसले सन्‍धि तोडेपछि दण्‍ड नभोगी धरै पाउँदैन।”
16म सार्वभौम परमेश्‍वर जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु कि त्‍यो राजा बेबिलोनमा मारिनेछ किनभने त्‍यसले बेबिलोनको राजासित गरेको सन्‍धि र शपथ तोड्यो। बेबिलोनको राजाले नै त्‍यसलाई राजगद्दीमा बसालेको थियो। 17जब बेबिलोनीहरूले धेरै मानिसहरूलाई मार्ने इच्‍छाले माटोको बाँध बनाएर पर्खाल खडा गर्न थाल्‍छन्, तब मिश्रको राजाको शक्तिशाली सेनाले पनि त्‍यसलाई लडाइँमा सहायता दिन सक्‍नेछैन। 18त्‍यसले आफ्‍नो शपथ र आफूले गरेको सन्‍धि तोड्यो, त्‍यसले यी सबै गरेको कारणले अब उम्‍कन पाउनेछैन।”
19म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर छु भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु कि म त्‍यसलाई दण्‍ड दिनेछु किनभने त्‍यसले मेरो नाममा आज्ञापालन गर्छु भनी शपथ खाई बाँधेको सन्‍धि तोडेको छ। 20म शिकारीको जाल बिछ्याउनेछु र त्‍यसलाई पक्रनेछु। त्‍यसलाई बेबिलोनमा लगेर दण्‍ड दिनेछु किनभने त्‍यो मसित अविश्‍वासयोग्‍य भएको थियो। 21त्‍यसका सबैभन्दा असल सिपाहीहरू लडाइँमा मारिनेछन् र नमरी बाँच्‍नेहरू सबै चारैतिर छरपस्‍ट पारिनेछन्। तब तिमीहरूले जान्‍नेछौ कि म परमप्रभुले यो कुरा भनेको हुँ।”
आशाको प्रतिज्ञा
22“ ‘सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ:
“एउटा देवदारुको सबैभन्दा टुप्‍पाको एउटा सानो मुना चुँडाएर लिनेछु
र एउटा सबैभन्दा उच्‍च पर्वतमा म त्‍यो रोप्‍नेछु।
23इस्राएलका सबैभन्दा उच्‍च पहाडका टाकुरामा म त्‍यो रोप्‍नेछु। त्‍यसका हाँगाहरू हुनेछन् र त्‍यसले फल फलाउनेछ
र त्‍यो एउटा उत्तम देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्‍यसमा गुँड लाउनेछन् र त्‍यसको छायामा तिनीहरू बस्‍नेछन्।
24देशका सबै रूखहरूले यो कुरा जान्‍नेछन् कि अग्‍लो रूखलाई होचो बनाउने र होचो रूखलाई अग्‍लो बनाउने,
हरियो रूखलाई सुकाइदिने र सुकेको रूखलाई हरियो-भरियो बनाउने म परमप्रभु नै हुँ।
“म परमप्रभुले नै भनेको हुँ र म त्‍यो गर्ने नै छु।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्