YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:11-22

प्रस्‍थान 3:11-22 सरल नेपाली

तर मोशाले परमेश्‍वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्‍याउन सक्‍छु?” परमेश्‍वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्‍नेछौ। मैले तँलाई पठाएको हो भन्‍ने प्रमाण यही नै हुनेछ।” तर मोशाले उत्तर दिए, “जब म इस्राएलीहरूकहाँ गएर ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले मलाई पठाउनुभएको हो’ भनुँला, तब ‘उहाँको नाम के हो’ भनी तिनीहरूले मलाई सोधे भने मैले के भन्‍नु?” परमेश्‍वरले भन्‍नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्‍नू, ‘म हुँ भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्‍ति मेरो नाम ‘म हुँ’ हो। भविष्‍यका पुस्‍ता-पुस्‍ताले मलाई त्‍यही नामले पुकार्नेछन्। गएर इस्राएलका नाइकेहरूलाई एक साथ भेला गरेर तिनीहरूलाई भन् कि म परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वर, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिएको हुँ। तिनीहरूलाई भन्, म तिनीहरूका माझमा आएको छु र मिश्रीहरूले तिनीहरूलाई के गर्दै छन् ती सबै मैले देखेको छु। मैले यो पक्‍का गरिसकेको छु कि म तिनीहरूलाई सताइएको मिश्रदेशदेखि तिनीहरूलाई निकाली लैजानेछु र एउटा धनी र मलिलो भूमि भएको देशमा पुर्‍याउनेछु। त्‍यस देश कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश हो। “मेरा प्रजाले तैँले भनेको कुरा सुन्‍नेछन्। त्‍यसपछि तँ इस्राएलका नाइकेहरूलाई लिएर मिश्रको राजाकहाँ जानुपर्छ, तैँले राजालाई भन्‍नू, ‘हिब्रूहरूका परमेश्‍वर परमप्रभुले हामीलाई दर्शन दिनुभएको छ। अब हामीलाई एकलास स्‍थानमा तीन दिन यात्रा गर्न दिनुहोस्। हामी त्‍यहाँ गएर आफ्‍ना परमेश्‍वर परमप्रभुकहाँ बलि चढाउनेछौं।’ म जान्‍दछु कि मिश्रको राजाले करमा नपरुञ्‍जेल तिमीहरूलाई जान दिनेछैन। तर म मेरो शक्ति चलाउनेछु र मिश्रमा डरलाग्‍दा कामहरू गरेर तिनीहरूलाई दण्‍ड दिनेछु। त्‍यसपछि उसले तिमीहरूलाई जान दिनेछ। “म मिश्रीहरूलाई तिमीहरूको आदर गर्न लाउनेछु र मेरा प्रजा त्‍यहाँबाट बिदा हुँदा रित्तै हात निस्‍कनेछैनन्। हरेक इस्राएली स्‍त्रीले आफ्‍ना छिमेकका मिश्री स्‍त्रीकहाँ गएर लुगाफाटा अनि सुन र चाँदीका गहनाहरू माग्‍नेछन्‌। ती कुराहरू तिनीहरूले आफ्‍ना छोरा-छोरीहरूलाई लगाइदिनेछन् र त्‍यसरी मिश्रका धन-सम्‍पत्ति लिएर जानेछन्।”

प्रस्‍थान 3 पढ्नुहोस्