YouVersion लोगो
खोज आइकन

एस्‍तर 8

8
यहूदीहरूलाई बचाउन आदेश दिइन्‍छ
1त्‍यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्‍पत्ति एस्‍तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्‍तरले राजालाई भनिन् र त्‍यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए। 2राजाले आफ्‍नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्‍तरले हामानको धन-सम्‍पत्ति मोर्दकैको जिम्‍मामा दिइन्।
3त्‍यसपछि एस्‍तर राजाका पाउमा परी रुँदै फेरि उनीसित बिन्‍ती गर्न थालिन्। अगागको सन्‍तान हामानले यहूदीहरूका विरुद्धमा गरेका दुष्‍ट षड्‌यन्त्र रोक्‍नलाई केही गरिदिनुहोस् भनी तिनले राजालाई बिन्‍ती गरिन्। 4राजाले तिनीतर्फ आफ्‍नो सुनको राजदण्‍ड पसारे र तिनी उभिइन् र भनिन्, 5“राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्‍छ र यो कुरा हजुरलाई उचित लाग्‍छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्‍तान हम्‍मदाताको छोरोले राज्‍यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्। 6त्‍यो आपत-विपत मेरा जातिमा आइपर्‍यो र मेरा कुटुम्‍बहरू मारिए भने म कसरी सहन सकूँला र?”
7राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ। 8तर राजाको नाममा राजाकै छाप मोहोर लगाएर निकालिएको उर्दी रद्द गर्न सकिँदैन। तरै पनि तिमीहरू यहूदीहरूलाई जे चाहन्‍छौ, सो लेख्‍न सक्‍छौ। त्‍यो तिमीहरू मेरो नाममा लेख र त्‍यसमा मेरो राज-मोहोर लगाऊ।”
9सीवान भनिने तेस्रो महिनाको तेईसौं दिनमा यो कुरा भएको हो। मोर्दकैले राजाका सचिवहरूलाई बोलाए र चिठीहरू लेख्‍न लाए। भारतवर्षदेखि इथियोपिया देशसम्‍मका १२७ वटा प्रान्‍तका बडा-हाकिम, शासक र भारदारहरू र यहूदीहरूलाई ती चिठी पठाउने आदेश दिए। प्रान्‍त-प्रान्‍तमा चिठीहरू पठाइए। प्रान्‍त-प्रान्‍तकै लेख्‍ने तरिकाअनुसार त्‍यसकै भाषामा र यहूदीहरूलाई तिनीहरूका लेख्‍ने तरिकाअनुसार तिनीहरूकै भाषामा ती चिठी लेखिएका थिए। 10मोर्दकैले ती चिठी राजाको नाममा लेखाए र राज-मोहोर लगाइदिए। राजाका तबेलाका फुर्तिला घोडाहरूमा सवार भई घोडचढीहरूले ती चिठी प्रान्‍त-प्रान्‍तमा पुर्‍याए।
11हरेक सहरमा आफ्‍नो बचाउको निम्‍ति यहूदीहरू सङ्गठित हुन सक्‍छन् र त्‍यसो गर्न राजाको अनुमति छ भनी ती चिठीमा लेखिएका थिए। कुनै प्रान्‍तमा कुनै जातिका मानिसहरूले हात-हतियार लिएर यहूदीहरू तिनीहरूका स्‍वास्‍नीहरू, छोरा-छोरीहरूमाथि हमला गर्नेलाई यहूदीहरूले तिनीहरूको सामनामा लडाइँ गर्न र मार्न सक्‍नेछन् अनि तिनीहरू एक-एकलाई नाश पारी तिनका जग्‍गा-जमिन, धन-सम्‍पत्ति लिन पाउनेछन् भन्‍ने पनि लेखिएको थियो। 12यहूदीहरूको हत्‍या गर्न तोकिएको दिन अर्थात् अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन यो आज्ञा सम्‍पूर्ण फारस-साम्राज्‍यमा चालु रहनेथियो। 13प्रत्‍येक प्रान्‍तको सारा प्रजालाई यो कानुन बनिएको छ भनी सुनाइनुपर्थ्‍यो र त्‍यसरी यहूदीहरू त्‍यस दिन आफ्‍ना शत्रुहरूसँग बदला लिन तयार रहन सक्‍दथे। 14राजाको आज्ञाले घोडचढीहरू राज-घोडामा सवार भई खुब वेगले समाचार लिई गए। राजधानी शूशन सहरमा पनि सो उर्दी जनसाधारणका बीचमा सुनाइयो।
15नीला र सेता राजसी पोशाक लाएर मिहिन बैजनी मलमलको खास्‍टो र शिरमा सुनको शोभायमान मुकुट पहिरेर मोर्दकै राजमहलबाट निस्‍के। शूशनका सडक-सडकमा आनन्‍दित जयध्‍वनि भयो। 16यहूदीहरूको निम्‍ति त्‍यो दिन आनन्‍द, भयबाट छुटकारा, खुसी र विजयको दिन थियो। 17प्रत्‍येक सहर र प्रान्‍तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्‍दसाथ उत्‍सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए।

अहिले सेलेक्ट गरिएको:

एस्‍तर 8: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्