उपदेशक 12
12
1यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्द छैन,” भन्नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्ना सृष्टिकर्ताको सम्झना गर। 2त्यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्नेछ र वर्षा ल्याउने बादल कहिल्यै हट्नेछैन। 3त्यस बेला तिमीलाई रक्षा गर्दैल्याउने तिम्रा पाखुरा थरथरी काम्नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्न छोड्नेछन्। 4तिम्रा कानहरू बहिरा हुनेछन् र तिमीले बाटोको आवाज सुन्नेछैनौ। गाएका गीत वा जाँतो पिंधेको आवाज सुन्न सक्नेछैनौ तर चराले गीत गाउँदा पनि तिमी निद्राबाट जाग्नेछौ। 5अग्ला ठाउँदेखि तिमी डराउनेछौ र हिँड्दा तिमीलाई डर हुनेछ। तिम्रो केश फुल्नेछ, तिमीलाई यताउति घस्रेर हिँड्नुपर्नेछ र केही गर्न मन लाग्नेछैन।
तिमी आफ्नो अन्तिम विश्राम लिने ठाउँतिर गइरहेका हुनेछौ र गल्लीमा मानिसहरूले शोक मनाउनेछन्। 6चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्नेछ। 7हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्वरको सम्झना गर।
8व्यर्थ, व्यर्थ, सबै व्यर्थ भनी उपदेशक भन्दछन्।
सबै कुराको निष्कर्ष
9तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्यबारे इमानदारीसाथ जाँच गरे। 10उपदेशकले ठीक कुरा भेट्टाउने चेष्टा गरे। तिनले जे लेखे, ती सत्य थिए। 11बुद्धिमान्का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्छन् र सङ्ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्छन्। हामी सबैका एउटै गोठालो परमेश्वरले ती दिनुभएको हो।
12ए मेरो छोरो, अर्को एउटा कुरा पनि नजरमा राख्नुपर्छ। पुस्तक लेखाइको अन्त छैन र धेरै पढाइले मानिसलाई थकाउँछ।
13यी सबै कुरा सुन्यौ, अब एउटै कुरा मात्र भन्नु छ; परमेश्वरको भय मान र उहाँका आज्ञापालन गर किनभने त्यति गर्नलाई मात्र मानिसको सृष्टि गरिएको हो। 14हामीले गरेका सबै काम असल होस् वा खराब, गुप्तमा गरेका कामसमेत परमेश्वरले न्याय गर्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
उपदेशक 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.