YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 2:24-37

व्‍यवस्‍था 2:24-37 सरल नेपाली

“हामीले मोआब पार गरेपछि परमप्रभुले हामीहरूलाई भन्‍नुभयो, ‘अब हिँड र अर्नोन नदी पार गर। हेश्‍बोनको एमोरी राजा सीहोनलाई तिनको देशसमेत म तिमीहरूका हातमा दिनेछु। तिनलाई हमला गरी तिनको देश कब्‍जा गर्न थाल। आजदेखि उसो म सबै ठाउँका मानिसहरूलाई तिमीहरूको डर मान्‍न लाउनेछु। तिमीहरूको नाम सुन्‍दा हरेक व्‍यक्ति डरले काम्‍नेछ।’ “तब मैले कदेमोतको उजाडस्‍थानदेखि हेश्‍बोनको राजा सीहोनकहाँ यो शान्‍तिको प्रस्‍तावसहित दूतहरू पठाएँ, ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी बाटो नछोडी सोझै निस्‍किजानेछौं। हामीले खाने भोजन र पिउने पानीको निम्‍ति हामी दाम तिर्नेछौं। हामी खालि तपाईंको देशबाट भएर जान चाहन्‍छौं र यर्दन नदी तरेर परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा जानेछौं। एदोमबासी एसावका सन्‍तान र आरबासी मोआबीहरूले हामीलाई तिनीहरूका देशबाट भएर जानदिए।’ “तर सीहोन राजाले हामीलाई उनको देशबाट भएर जान दिएनन्। हामीले उनलाई जितेर उनको राज्‍य लिन सकौं भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले उनलाई ढिट र कठोर बनाउनुभएको थियो। अझसम्‍म उनको राज्‍य हाम्रो अधीनमा छ। “त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, ‘हेर्‌, मैले सीहोन राजा र त्‍यसको राज्‍य तेरो सामुन्‍ने असहाय बनाएको छु। त्‍यसको राज्‍य लिएर आफ्‍नो अधीनमा पार्‌’। सीहोन आफ्‍ना सारा सेना लिएर हामीसित लड्‍नलाई यहसा सहरका छेउमा आए। तर परमप्रभु हाम्रा परमेश्‍वरले उनलाई हाम्रा हातमा दिनुभयो र हामीले उनलाई उनका छोराहरू र सबै मानिसहरूसमेत मार्‍यौं। त्‍यही बेला हामीले प्रत्‍येक सहर कब्‍जा गरेर नाश गर्‍यौं र स्‍त्री, पुरुष र बालबच्‍चा सबैलाई मार्‍यौं। हामीले कसैलाई जिउँदो छोडेनौं। हामीले गाई-वस्‍तु आफ्‍नो बनायौं र सहरहरू लुट्यौं। परमप्रभु हाम्रा परमेश्‍वरले अर्नोन-बेसीको किनारमा भएको अरोएरदेखि लिएर गिलादसम्‍मका सहरहरू, बेसी बीचको सहरसमेत हाम्रो कब्‍जामा गराइदिनुभयो। कुनै सहरका पर्खालले हामीलाई रोक्‍न सकेन। तर हामीहरू अम्‍मोनीहरूको देशको नजिक यब्‍बोक नदीका किनार तथा डाँडाका सहरहरूमा गएनौं। परमप्रभु हाम्रा परमेश्‍वरले नजानू भनी आज्ञा गर्नुभएको अरू कुनै ठाउँमा हामी गएनौं।

व्‍यवस्‍था 2 पढ्नुहोस्