आमोस 6
6
इस्राएलको विनाश
1महान् जाति इस्राएलका मानिसहरू हो! तिमीहरूकहाँ मानिसहरू मद्दत माग्न आइरहन्छन्, हाय! हाय!! तिमीहरू, जो सियोनमा आरामसाथ बसेका छौ र सामरियामा सुरक्षित छौं भनी ठान्छौ, 2गएर कल्नेह सहर हेर, त्यहाँबाट हमात महानगरमा जाओ। त्यसपछि पलिश्तीहरूको गात सहरमा जाओ। के ती यहूदा र इस्राएल भन्दा असल छन् र? वा, उनका साँध-सिमाना तिमीहरूका साँध-सिमानाभन्दा ठूलो छ र? 3विनाशको दिन आउँदै छ भनी तिमीहरू विश्वास गर्दैनौ तर तिमीहरूको यस्तो विचारले त त्यो दिन झन् नजिक पो आउँछ। 4तिमीहरू, जो सुख-विलाससाथ खाटमा ढल्किएर हृष्टपुष्ट भेडा र बाछाका मासु खान्छौ, 5तिमीहरू दाऊदले झैँ गीत रचेर वीणा बजाउन मन पराउँछौ, 6तिमीहरूले घ्याम्पाका घ्याम्पा मद्य पिउँदछौ र बहुमूल्य सुगन्धित अत्तर जिउमा घस्दछौ तर इस्राएलको विनाशमा बिलौना गर्दैनौ। 7यसकारण कैदी बनाइएर देश निकालावास भएर लगिनेहरूमा तिमीहरू पहिलो हुनेछौ। तिमीहरूका भोज-भतेरहरू समाप्त हुनेछन्।
8सर्वसक्तिमान् परमप्रभुले एउटा गम्भीर शपथ खानुभएको छ; परमप्रभु सर्वशक्तिमान् परमेश्वरले यसरी घोषणा गर्नुहुन्छ, “म इस्राएलका मानिसहरूका अहङ्कारलाई घृणा गर्दछु, म तिनीहरूका किल्लाहरूलाई तुच्छ ठान्दछु, म तिनीहरूका देशका राजधानी र त्यहाँ भएका सबै थोक शत्रुका हातमा सुम्पिदिनेछु।”
9एउटा घरमा दश जना बाँचेका छन् भने तिनीहरू मर्नेछन्। 10मरेका मानिसको लाश गाड्नलाई जिम्मा पाएका आफन्तहरूले लाश घरबाट निकालून्। ती आफन्तहरूले घरमा बाँकी रहेको मानिसलाई यसरी सोधून्, “तिमीसित अरू कोही छ?”
त्यसले भित्रबाट जवाफ दिनेछ, “अँहँ, छैन।”
तब त्यो आफन्तले भन्नेछ, “चुप लाग्! हामीले अहिले परमप्रभुको नामसम्म लिनुहुन्न, सो होशियार गर्।”
11परमप्रभुले आज्ञा दिनुहुँदा ठूला-साना सबै घरहरू चकनाचुर हुनेछन्।
12के घोडाहरू चट्टानमाथि दगुर्छन्? के कसैले समुद्रमा गोरुहरू जोत्छ र? तर तिमीहरूले चाहिँ न्यायलाई विष र सत्यलाई झूटमा परिवर्तन गरेका छौ। 13तिमीहरू लो-देबार सहर जितेकोमा घमण्ड गर्दछौ। हामीसित कार्नैम सहर जित्ने शक्ति छ भनेर तिमीहरू धाक लगाउँछौ।”
14सर्वशक्तिमान् परमप्रभु परमेश्वर आफैंले भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको देश कब्जा गर्न एउटा अर्को देशको सेना पठाउनेछु। तिनीहरूले उत्तरका लेबो-हमातदेखि दक्षिणमा अराबाको बेसीसम्म तिमीहरूमाथि अत्याचार गर्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
आमोस 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.